नेपाल र चीनबीचमा सीमा समस्या छैनः परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल र चीनबीचमा सीमा समस्या छैनः परराष्ट्रमन्त्री ज्ञवाली

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रमा निर्माण गरिएका भवनहरू चीनकै भूभागमा पर्ने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार मन्त्री ज्ञवालीले नेपाल र चीनबीचमा सीमा समस्या नरहेको बताए । ‘०७३ सालमा पनि त्यस क्षेत्रमा चिनियाँ पक्षले भवन निर्माण गरेको भन्ने समाचार आएको रहेछ,’ उनले भने, ‘त्यसबेला सरकारले परराष्ट्र र गृह मन्त्रालय तथा नापी विभागको संयुक्त टोलीलाई स्थलगत भ्रमणका लागि पठाएको थियो ।
टोलीको प्रतिवेदनअनुसार ती भवनहरू चीनले सीमाबाट आफ्नोपट्टि एक किलोमिटरभित्र निर्माण गरेको हो ।’

मन्त्री ज्ञवालीले अहिले पनि सञ्चारमाध्यममा समाचार आइसकेपछि हुम्ला जिल्लाबाट स्थलगत अध्ययनका लागि टोली गइसकेको र फर्केपछि थप स्पष्ट हुने बताए । उनले नेपाल र चीनबीचमा सीमा समस्या भए सद्भावपूर्ण रूपमा वार्ता गरेर समाधान गर्न सकिने बताए । उनले हुम्ला जिल्लाको सीमालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरे ।
उनले आधिकारिक निकाय र मन्त्रालयसँग कुरा गरेर मात्र समाचार सम्प्रेषण गर्न पनि आग्रह गरे ।

यसैबीच, काठमाडौंस्थित चिनियाँ दूतावासले हुम्लाको नेपाल–चीन सीमा क्षेत्रमा भवन निर्माण गरेको विषयमा आएका समाचारको मंगलबार राति खण्डन गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सियओलङले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्दै चीनले भवन बनाएको क्षेत्र आफ्नै भूभाग रहेको प्रमाणित भएको उल्लेख गरेका छन् । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन् ।

उनले चीन र नेपाल नजिकको छिमेकी रहेको उल्लेख गर्दै चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको जनाएका छन् । उनले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको जनाउँदै दुवै पक्षले जहिले पनि सीमा मामिलामा नजिकबाट संवाद गर्न सक्ने बताएका छन् ।

नेपाली मिडियाले सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका थिए । लगत्तै सीमाको स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको छ । कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले खबर लेखेका छन् ।