सुनको मूल्य घट्दै

सुनको मूल्य घट्दै

काठमाडौँ । असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार बिहान नेपाली समयअनुसार १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८८९ डलर पुगेका आधारमा उक्त मूल्य तय भएको हो । नेपालमा सुनको मूल्य भने भारतीय बजारमा भर पर्दै आएको छ ।
यसअघि गत भदौ ३१ गते छापावाल सुनका मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ कायम भएकोे थियो भने असोज १ गते ९६ हजार छ सय रुपियाँ मूल्य तय भएको थियो । त्यसपछि मङ्गलबार ९५ हजार पाँच सय
रुपियाँमा कारोबार भएको थियो ।
कोभिड–१९ को महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा नै पहेँलो धातुको मूल्य आकाशिँदै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्दै प्रतितोला एक लाख तीन
हजार रुपियाँभन्दा माथि पुगेको थियो । अहिले तुलनात्मक रूपमा डलर बलियो हुँदै गएको अन्तर्राष्ट्रिय बजारमा नै सुन बोलकबोलबाट बिक्री हुन थालेकाले मूल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउनुहुन्छ । अन्तर्राष्ट्रिय बजारमा नै आगामी अक्टोबर १५ सम्ममा सुन बजारमा करेक्सन आउने अनुमान गरिएको छ । अहिले दैनिक ४० देखि ५० डलरसम्म मूल्यमा कमी आउन थालेको छ । यस्तै क्रम रहेमा नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँसम्म हुनसक्ने शाक्यको अनुमान
रहेको छ ।
असोज १ देखि नै बजार खुले पनि कारोबार भने शून्य नै भएको शाक्य बताउनुहुन्छ । एक÷दुई ग्राहक सुन बेच्न आए पनि खरिद गर्ने र अर्डर गर्ने ग्राहक नआएको उहाँको भनाइ छ । पछिल्लो समय सुनको मूल्य उकालो लाग्दा वाणिज्य बैङ्कहरूबाट धमाधम सुन बिक्री हुने गरेको थियो । पछिल्लोपटक भने सुन खरिदका लागि महासङ्घले सिफारिस नगरेको शाक्यको भनाइ छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । गत साउनमा एक हजार ४३५ रुपियाँसम्म पुगेको चाँदीको मूल्य क्रमशः ओरालो लाग्दै आएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपियाँ कायम भएको छ ।  -गोरखापत्र अनलाइन