प्रदेश नम्बर ५ मा ५ महिनामा ३ सय ३९ फरार अपराधी पक्राउ

प्रदेश नम्बर  ५  मा ५ महिनामा ३ सय ३९ फरार अपराधी पक्राउ

बुटवल | ५ महिनाको अवधिमा ३ सय ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालयबाट गत वैशाखदेखि सञ्चालन गरेको फरार अपराधी पहिचान र पक्राउ अभियानका क्रममा ती अपराधी पक्राउ परेका हुन् ।

अदालतबाट कसूर ठहर भई कैद र जरिवानासमेत तोकिएका फरार अपराधीलाई ५ नम्बर प्रदेश प्रहरी कार्यालयले मातहत जिल्लाबाट विशेष टोली खटाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएकोे छ । यसरी पक्राउ पर्नेमा सबैभन्दा बढी बाँके जिल्लाका २ सय ७६ र सबैभन्दा कम रूपन्देही जिल्लाका १ जना रहेका छन् ।

त्यस्तै पाल्पा जिल्लाका १५, अर्घाखाँचीका ८, गुल्मीका ४, नवलपरासीका ३, कपिलवस्तकाु ३, रोल्पाका ३, बर्दियाका २, प्युठानका २ र रुकुमका २ जना रहेका छन् ।

प्रहरीले पक्राउ गरेकामध्ये अपुताली अभियोगका १, अंश मुद्दाका ४, कर्तव्य ज्यानका ७, कुटपिटका ३९, वनका ७, सार्वजनिक अपराधका ४, सवारी ज्यानका १६, सम्बन्ध विच्छेदका २१, बहुविवाहका १२, लेनदेनका ११, लागूऔषधका १९, मानव बेच–बिखन तथा ओसारपसारका ३, विस्फोटक पदार्थका ३, ज्यान मार्ने उद्योगका ६, जालसाजीका ३४, नागरिकता कीर्तेका ७, जारीखतका १, जबरजस्ती करणीका ११, चेक अनादर ४, चोरीका ३९, घरेलु हिंसाका १, गाली बेइजतीका ११, करकापका ४, कुटपिट अंगभंगका ११, कुटपिट लुटपिटका ८, केही सार्वजनिक अपराधका ६, गौवधका १, जग्गा किचलोका १, जारीका १, जुवाका २६, डाँका चोरीका २, नाता कायमका १, लिखत बदरका ६, विवाहवारीका १, बैंकिङ कसूरका २, सवारी अंगभंगका १, मोटरसाकल चोरीका १, जबरजस्ती करणी उद्योगका २, अपरण तथा जबरजस्ती करणी १, जबरजस्ती चोरी १, वन्यजन्तु ओखेटोपहारका १ र आगो लगाएको १ गरी ३ सय ३९ वटा अपराधिक घटनाका फरारलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्ता आपराधिक कार्यमा संलग्नको वास्तविक नाम फरक, नागरिकताको नाम फरक परेको, बसाइँसराइ गरी विकट र शहरी क्षेत्रमा बसोबास गरेको, रोजगारीको सिलसिलामा अन्य जिल्ला तथा विदेश गएको, लामो समय भएकाले कालगतिले वा अन्य कारणबाट मृत्यु भइसकेका र हालको विश्वव्यापी महारामी कोभिड–१९ को विषम परिस्थितिका कारण खोजी कार्यमा कठिनाइ आइपरे तापनि प्रहरीको प्रभावकारी परिचालनबाट गत वैशाखदेखि असोज ६ गतेसम्ममा ३ सय ३९ जना फरार अपराधी पहिचान गरी र पक्राउ गरिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयल दाङका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

फरार अपराधी ३ सय ३९ जनाको मिलाएर २ सय ५१ वर्ष २ महिना २४ दिन कैद तथा १९ लाख ८१ हजार ३ सय ४४ रुपियाँ जरिवानास्वरूप असुली हुने भएको छ । फरार अपराधी पहिचान र पक्राउ अभियानलाई निरन्तरता दिनेसमेत प्रवक्ता बैदवारले बताउनुभयो । -नेपाल समाचारपत्र