मनसुन सकिन अझै केही दिन लाग्ने, पानी पर्ने क्रम शनिबारबाट कम हुने सम्भावना

मनसुन सकिन अझै केही दिन लाग्ने, पानी पर्ने क्रम शनिबारबाट कम हुने सम्भावना

मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ।

मौसमविद् वरुण पौडेलका अनुसार हिजो (बिहीबार) भन्दा आज र आजभन्दा भोलि पानी पर्ने क्रम कम हुँदै जाने सम्भावना छ।

‘मनसुन अझै २–४ दिन रहने देखिन्छ,’ शुक्रबार बिहान नेपालखबरसँग उनले भने, ‘तर पानी पर्ने क्रम आजैबाट कम हुँदै जाने सम्भावना छ।’ नेपालबाट मनसुन बाहिरिने औसत मिति यही सेप्टेम्बर २७ अर्थात् बुधबार थियो। तर झन् केही दिनयता देशभरजसो भारी वर्षा भएको छ।

‘कहिलेकाहीं यस्तै हुन्छ,’ मौसमविद् पौडेलले भने, ‘यसलाई मनसुनको उतारचढाव भनिन्छ, कुनै वर्ष मनसुन भित्रिने सुरुकै समयमा वर्षा बढी हुन्छ, कहिले बीचमा त कहिले अन्तिम समयमा।’
उनका अनुसार यो कुनै अचम्मको कुरा होइन, नियमित प्रक्रिया नै हो। पछिल्लो समय सबैभन्दा बढी वर्षा पूर्वका प्रदेशमा भएको उनले जानकारी दिए। उनका अनुसार कास्की, स्याङ्जा, विराटनगर, भैरहवालगायत स्थानमा अति भारी वर्षासमेत भएको छ।

सय मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। यस्तै ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी तथा १० देखि ५० मिलमिटरसम्मको वर्षालाई मध्यम वर्षा मानिन्छ। १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा भनिन्छ।

यसबीच काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ। ७५ मिलिमिटरसम्म वर्षा भएको मौसमविद् पौडेलले जानकारी दिए।