महेन्द्रनगर जेसिजको ‘जेसिज सप्ताह’ शनिबार सम्पन्न

महेन्द्रनगर जेसिजको ‘जेसिज सप्ताह’ शनिबार सम्पन्न

असोज १०,कञ्चनपुर ।
महेन्द्रनगर जेसिसको ‘जेसिज सप्ताह’शनिवार सम्पन्न भएको छ । कोभिड-१९ को महामारीका बिचपनि महेन्द्रनगर जेसिसले ‘जेसिज सप्ताह’ लगाएको हो । जेसिजले हरेक वर्ष मुख्य पर्वकै रूपमा मनाउने सप्ताहलाई यसपालि महेन्द्रनगर जेसिजले सुरक्षाकर्मी, वृद्धवृद्धा र अनाथ बालबालिका सङ्ग  मनाएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते शुरू गरिएको जेसिस सप्ताह शनिवार वृद्धवृद्धाहरुलाई  भोज गराउदै सम्पन्न भएको छ। संबिधान दिवसका दिन महेन्द्रनगर जेसिसले दशरथ चन्द चोकमा दिप प्रज्ज्वलन गरी जेसिस सप्ताह शुरू गरेको थियो ।
सप्ताहको दोस्रो दिन शुक्लाफाँटा नगरपालिकाको झलारीमा कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै ईलाका प्रहरी कार्यालय झलारी,अस्थायी ट्राफिक प्रहरी पोस्ट कलुवापुरमा मास्क र स्यानिटाइजर वितरण गरिएको थियो । महेन्द्रनगर जेसिज वर्ष २०२० का अध्यक्ष हरिश भट्टका अनुसार सप्ताहको तेस्रो दिन महाकाली बाल अनाथालयमा ३२ जना बालबालिकालाई  टी–सर्ट (जर्सी) वितरण गरि चौथो दिन ती बालबालिकासँगै रात्रिभोजको आयोजना गरिएको बताए ।
सप्ताहको पाँचौं दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरलाई छुट्टाछुट्टै मास्क र स्यानिटाइजर वितरण गरिएको र छैठौं दिनमा रौटेला वृद्धाश्रममा रहेका २२ जना वृद्धवृद्धालाई दाल, चामल, साबुन लगायत खाद्यान्न वितरण गर्दै सरसफाई गरि थियो ।जेसिस सप्ताहको अन्तिम सातौं दिन शनिवार वृद्धाश्रममा वृद्धवृद्धा सङ्गै दिवाभोज गरि  सप्ताहको समापन गरिएको अध्यक्ष भट्टले बताए ।

महेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष सुरेशसिंह भण्डारीको प्रमुख आतिथ्यमा भएको सप्ताह समापन समारोहको सभापतित्व सप्ताह मूल आयोजक समितिका संयोजक तथा महासचिव हरिशप्रसाद भट्टले गरेका थिए ।
समापन समारोहमा पूर्व अध्यक्षहरू अमरबहादुर चन्द, पवनचन्द्र लेखक, दिपकराज विष्ट, लक्ष्मणदत्त भट्ट, प्रेमसिंह भाट, नरेन्द्रराज जोशी लगायतले महेन्द्रनगर जेसिज वर्ष २०२० ले कोभिड १९ को भयावह अवस्थामा पनि गरेको कार्यक्रमको प्रशंसा गरेका छन् ।
महेन्द्रनगर जेसिज वर्ष २०२० का अध्यक्ष तथा समापन समारोहका विशिष्ट अतिथि हरिश भट्टले सप्ताहव्यापी कार्यक्रका सबै सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए। समापन कार्यक्रममा हरेक कार्यक्रमका संयोजकलाई प्रमाणपत्र वितरण गरिएको छ । ‘देशभर अनलाइनमार्फत् सप्ताहव्यापी कार्यक्रम भइरहेको बेला भौतिक रूपमै जोखिमयुक्त समूहबीच कार्यक्रम गरेकाले सबैलाई धन्यवाद,’ अध्यक्ष भट्टले भने । समापन कार्यक्रमको सञ्चालन महेन्द्रनगर जेसिज वर्ष २०२० का कार्यकारी उपाध्यक्ष कविराज अवस्थीले गरेका थिए ।