कैलालीमा सक्रिय सङ्क्रमित ५३१ जना पुगे

कैलालीमा सक्रिय सङ्क्रमित ५३१ जना पुगे

कैलाली: सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड-१९ का सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दश दिनअघि प्रदेशमा ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा आज यो सङ्ख्या कूल एक हजार ८५ पुगेको छ।

सबैभन्दा बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ५३१ जना पुगेका छन्। यसैगरी सक्रिय सङ्क्रमित बिरामी अछाममा १३० बैतडीमा ८० बझाङमा ११३, डडेलधुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८ र कञ्चनपुरमा ४७ सङ्क्रमित हुँदा बाजुरामा यसको दर आज शून्यमा झरेको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछामका गरी थप ९८ जनामा कोभिड—१९ सङ्क्रमणको पुष्टि भएको छ । २४ घण्टमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २५ दिनयता सबैभन्दा बढी हो। योसँगै प्रदेशमा कूल सङ्क्रमित छ हजार ९८२ जना पुगेका छन्।

आजसम्म उपचारपछि पाँच हजार ८८३ जना सङ्क्रमण निको भएर घर फर्केका छन्। सङ्क्रमितमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन्। सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।