हत्यारालाई कारबाहीको माग गर्दै चैनपुरमा प्रर्दशन

हत्यारालाई कारबाहीको माग गर्दै चैनपुरमा प्रर्दशन

बझाङ: बझाङको मष्टा गाउँपालिका वडा नं २ की १२ वर्षीया बालिका सम्झना कामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा आज पनि अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रर्दशन गरेका छन्।

उनीहरुले ‘न्याय कहिले पाउने ? भन्दै प्रश्न गरेका छन्। बुधबार साँझ घरबाट गोठमा हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै मृत्यु भएको थियो।

घटनामा संलग्न भएको आशंकामा अन्दाजी २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ। बोहरा यस अघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ। सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्। घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन्।

बझाङको मष्टा–२ की १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। जिल्ला अस्पताल बझाङमा गरिएको शवपरीक्षण प्रतिवेदनअनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सबै तथ्य प्रमाण हेर्दा बोहोरा नै दोषी रहेको दावी गरे।