ट्रम्पले विगत १५ वर्षमा १० वर्ष कर नतिरेको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको दाबी

ट्रम्पले विगत १५ वर्षमा १० वर्ष कर  नतिरेको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको दाबी

वाशिङटन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत १५ वर्षमा १० वर्ष आयकर नतिरेको अमेरिकी पत्रिका दि न्युयोर्क टाइम्सले दाबी गरेको छ। ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएको वर्ष सन् २०१६ मा ७५० डलरमात्र कर तिरेको पत्रिकाको दाबी छ। 

ट्रम्प र उनको कम्पनीको २ दशकको कर रेकर्ड प्राप्त गरेको दाबी गर्दै पत्रिकाले उनले विगत १५ वर्षमा १० वर्षको कर नतिरेको दाबी गरेको हो। कम्पनीलाई घाटा परेको दाबी गर्दै ट्रम्पले कर नतिरेको बताइएको छ। तर ट्रम्पले आफूले कर तिरेको दाबी गर्दै यो समाचारलाई ‘फेक न्युज’ (गलत) भनेका छन्। 

तर न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्प र उनको कम्पनीसँग सम्बन्धित सबै ‘ट्याक्स रिटर्न’ बारे अध्ययन गरेको बताएको छ। पत्रिकाले ट्रम्पले २०१६ मा ७५० डलर र २०१७ मा पनि सोही रकम करको रुपमा तिरेको दाबी गरेको छ। 

ट्रम्प अर्गनाइजेशनका प्रमुख कानुन अधिकृत अलान गार्टेनले पत्रिकाले लगाएको आरोप असत्य भएको दाबी गरे। विगतका दशकका ट्रम्पले व्यक्तिगत करको रुपमा संघीय सरकारलाई करोडौं डलर तिरेको दाबी गर्दै उनले सन् २०१५ मा राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेयता पनि लाखौं डलर तिरेको बताए।