कोरोना संक्रमणबाट विश्वमा १० लाख मानिसको ज्यान गयो, २४ घण्टामा २ लाख संक्रमित थपिए

कोरोना संक्रमणबाट विश्वमा १० लाख मानिसको ज्यान गयो, २४ घण्टामा २ लाख संक्रमित थपिए

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट विश्वमा १० लाख मानिसको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ ।

पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा ३ करोड ३२ लाख ९७ हजार ५ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारभन्दा बढी संक्रमितहरु थपिएका छन् ।
विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । यो रिपोर्ट तयार पार्दासम्म अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

यहाँ कोरोना संक्रमणपछि निको हुनेको संख्या ४५ लाख ६० हजार पुगेको छ ।

अमेरिकापछि एसियाली मुलुक भारतमा धेरै संक्रमित रहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् ।

भारतमा कोरोना संक्रमणपछि ५० लाख १३ हजार जना निको भइसकेका छन् भने हालसम्म ९५ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमएका छन् ।

यस्तै ब्राजिलमा पनि पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा ४७ लाख ३२ हजार कूल संक्रमित पुगेका छन् ।

अमेरिका, भारत, ब्राजिलपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा रसिया, कोलम्बिया पेरु, स्पेन लगायत छन् ।

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी अमेरिकी मुलुकहरु प्रभावित बनेका छन् । युरोपेली मुलुकमा पनि कोरोना भाइरसको दोस्रो लहर फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

युरोपेली मुलुकमा कूल संक्रमितको संख्या ४८ लाख ४८ हजार रहेको छ भने पछिल्लो २४ घण्टामा मात्र ४५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

युरोपेली मुलुकमा हालसम्म २ लाख २० हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २४ लाख ८८ हजार संक्रमणपछि निको भइसकेका छन् ।

उत्तर अमेरिकामा कोरोना संक्रमणको संख्या ८७ लाख ३५ हजार पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने हालसम्म ३ लाखभन्दा बढीले कोरोना संक्रमणपछि ज्यान गुमाइसकेका छन् ।

एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या भारतमा रहेको छ। त्यसपछि इरान, बंगलादेश, इराक, साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ ।

एसियाली मुलुकमा कूल संक्रमितको संख्या एक करोड पुगेको छ । एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ६ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै एसियाली मुलुकमा हालसम्म मृत्यु हुनेको संख्या ९५ हजार ५७४ पुगेको छ भने निको हुनेको संख्या ८५ लाख ८७ हजारभन्दा बढी छ ।

नेपालमा हालसम्म ७३ हजार ३ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म ४ सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको भएकाको संख्या ५३ हजार ८९८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।