केहि दिन ठूलो पानी नपर्ने, एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान

केहि दिन ठूलो पानी नपर्ने,  एक  हप्ताभित्र मनसुन बाहिरिने अनुमान

काठमाडौं ।
मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना छैन ।  

यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ ।

तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । यसैबीच आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज राति पनि प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर थोरै ठाउँहरुमा मात्र सामान्य पानी पर्ने सम्भावना छ ।