टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् ।

प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन्  । टिकटकमाथिको  प्रतिबन्धमा रोक लगाउने आदेश जारी गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन । यद्यपि यस विषयमा आगामी दिनमा फैसला गरिने उल्लेख छ ।

अदालतमा सुनुवाइको क्रममा बाइटडान्सका वकिलले अमेरिकाले लगाएको यो प्रतिबन्धलाई तर्कहीन रहेको बताएका थिए । यस विषयमा अहिले पनि वार्ता जारी रहेको अवस्थामा प्रतिबन्ध लगाउनु उचित नरहेको बाइटडान्सले उल्लेख गरेको थियो ।

बाइटडान्सले सन् २०१७ मा टिकटक सार्वजनिक गरेको थियो । विश्वभर टिकटकका ५० करोड प्रयोगकर्ता र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् ।