‘ट्रम्पको कर छली र ऋण राष्ट्रिय सुरक्षामाथिको गम्भीर प्रश्न’: पेलोसी

‘ट्रम्पको कर छली र ऋण राष्ट्रिय सुरक्षामाथिको गम्भीर प्रश्न’: पेलोसी

राष्ट्रपति डोनाल्ड ट्रम्पले आयकर छली गरेको दाबीसहितको खबर न्यूयोर्क टाइम्समा प्रकाशित भएपछि सो विषय अमेरिकी राजनीतिको केन्द्रमा आएको छ । ट्रम्पले आफूमाथिको अभियोग ‘फेक न्यूज’ भनि खारेज गरेका छन् ।

तर पत्रिकाले आफूले झण्डै दुई दशकको कर सम्बन्धी विवरण प्राप्त गरेको र त्यसमा ट्रम्प तथा उनको कम्पनीले ठूलो कर लगभग तिर्दै नतिरेको देखिएको दाबीसहित खबर प्रकाशित गरेको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख तथा शीर्ष डेमोक्र्याट न्यान्सी पेलोसीले ट्रम्पले आयकर छली गरेको आरोपित विषय ‘राष्ट्रिय सुरक्षा’ को प्रश्न रहेको बताएकी छन् ।

खबर प्रकाशित भएपछि पेलोसीले ट्रम्पले विदेशी स्वार्थसहितको रकम लिए–नलिएको स्पष्ट हुनु पर्ने बताएकी छन् । यदी दिएको भए त्यो राष्ट्रिय सुरक्षाका लागि अति खतराको विषय रहेको उनले बताएकी हुन् ।

न्यूयोर्क टाइम्समा प्रकाशित भएको समाचार अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा आयकर बापत मात्रै ७५० डलर तिरेका थिए ।

एनबिसीसँग कुरा गर्दै पेलोसीले भनेकी छन्, ‘प्रकाशित खबर अनुसार यी राष्ट्रपतिको ४०० मिलियन डलर ऋण छ । त्यो ऋण कोबाट लिएको? विभिन्न देशबाट? ऋण बापत उनीहरु के लाभ चाहन्छन्? त्यसकारण मेरा लागि यो राष्ट्रिय सुरक्षाको विषय हो र यसले गम्भीर प्रश्न खडा गरेको छ ।