बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुन बजार भने अझै ठप्प

बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुन बजार भने अझै ठप्प

काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लामो बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो भएसँगै अहिले आर्थिक क्षेत्र चलायमान हुँदै गएको छ । तर, बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुन बजार भने अझै ठप्प अवस्थामा छ ।

मूल्य अकासिएपछि गत आर्थिक वर्षको सुरुदेखि नै सुनचाँदीको व्यवसाय खस्किँदै आएको थियो । त्यसमाथि कोरोना महामारी र त्यसको नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण सुनको व्यवसाय थप प्रभावित भएको थियो ।

तर, अहिले बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो हुँदा व्यवसायमा सुधार आउने अपेक्षा गरिए पनि कुनै सुधार नआएको व्यवसायीहरु बताउँछन् ।

अहिले दसैं–तिहारजस्ता चाडपर्वको सिजन पनि नजिकिँदै छ । सामान्य अवस्थामा यो समय सुन कारोबार उच्च हुनुपर्थ्यो । तर, यसपालि सुनको व्यवसायमा कुनै रौनक नआएको व्यवसायीहरुको गुनासो छ ।

सुनको मूल्य उच्च भएकैले यसको कारोबार हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

‘बन्दाबन्दीका कारण आर्थिक क्षेत्र प्रभावित हुँदा मानिसको आम्दानी घटेको छ । त्यसमाथि सुनको मूल्य बढ्दा उपभोक्ताले यसलाई प्राथमिकतामा राखेनन् । त्यसैले यसको बजार खस्किएको हो’, शाक्यले भने ।

अहिले आवश्यक परेका ग्राहक मात्र सुन खरिद गर्न आउने हुँदा पसल खोल्ने र बन्द गर्ने मात्र काम भएको उनले बताए ।

पहिला चाडपर्व सिजन र विवाहको लगन भएकाले असोजमा दैनिक ३५ केजीभन्दा बढी सुन खपत हुन्थ्यो । तर, अहिले त्यसको ५ प्रतिशत सुन खपत हुने गरेको उनी बताउँछन् । ‘विवाहको लगन भए पनि सुन कारोबारमा केही सुधार आउँथ्यो । तर, मलमासका कारण अहिले विवाहको लगन छैन,’ उनले भने, ‘सुन व्यवसाय पर्ख र हेरको स्थितिमा छ ।’

गत वर्ष असारमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ हाराहारी थियो । तर, गत वर्ष चीन र अमेरिकाबीचको व्यापार द्वन्द्व, इरान र अमेरिकाबीचको तनावलगायतका कारण विश्व बजारमै सुनको मूल्य बढ्यो । विश्व बजारको मूल्यअनुसार नै नेपालमा सुनको मूल्य निर्धारण गरिने हुँदा गत वर्षको साउनदेखि मूल्य बढ्न थालेको थियो ।

कोरोना महामारी सुरु भएपछि सुन मूल्य थप बढेर नयाँ उचाइमा पुग्यो । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको थियो । अहिले घटेर प्रतितोला ९३ हजार रुपैयाँ हारहारीमा आएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।