सहकर्मीको जिम्मामा भएका २५ विद्यार्थीलाई विष खुवाउने शिक्षिकालाई मृत्युदण्ड

सहकर्मीको जिम्मामा भएका २५ विद्यार्थीलाई विष खुवाउने शिक्षिकालाई मृत्युदण्ड

काठमाडाैं । चीनमा एउटा शिशुकक्षाका २५ विद्यार्थीलाई विष खान दिएको र एक जनाको ज्यान लिएको अभियोग लागेकी एक शिक्षिकालाई मृत्युदण्ड सजाय सुनाइएको छ ।

ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि शिक्षिका वाङ युनलाई पक्राउ गरिएको थियो ।

अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सोडीअम नाईट्राईट मिसाइदिएको ठहर गरेको छ ।

ती सहकर्मीसँग विवाद भएपछि प्रतिशोध लिन उनले त्यसो गरेको बताइएको छ ।

गत वर्ष मार्च महिनामा उक्त घटना भएपछि पूरै चीन स्तब्ध भएको थियो। ती शिक्षिकाले विष हालेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

सोमवार स्थानीय अदालतले उक्त मुद्दा टुङ्ग्याउँदै उनलाई मृत्युदण्ड सुनाएको ग्लोबल टाईम्स पत्रिकाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।