बैतडीका ८४ मध्ये ३० वडा सचिव विहीन, सेवा प्रवाहमा समस्या हुदा सेवाग्राही मर्कामा

बैतडीका ८४ मध्ये ३० वडा सचिव विहीन,  सेवा प्रवाहमा समस्या हुदा सेवाग्राही मर्कामा

बैतडीः बैतडीका स्थानीय तहमा रहेका ८४ मध्ये ३० वडामा सचिव विहीन भएको छ। वडाहरूमा दरबन्दी अनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरूले जनाएका छन्।
सचिव नभएका वडाहरूमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘गाउँपालिकाका आठ वडामध्ये पाँच वडामा सचिव छैनन्, ती वडाहरूमा प्राविधिक सहायकहरूले सचिवको काम गरिरहेका छन्। ’  पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दी अनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरूले नै सचिवको काम गरिरहेका छन्। पुर्चौंडी नगरपालिकाका १० वडामध्ये नौ वडामा सचिव छैनन्। ती वडाहरूमा प्राविधिक सहायकहरूले नै सचिवको काम गरिरहेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए। उनले भने, ‘वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।’ 
यस्तै, डिलाशैनी गाउँपालिकामा ७ नम्बर वडामा मात्रै सचिव नभएका र अरू वडामा सचिवको दरबन्दी पदपूर्ति भएको गाउँपालिकाले जनाएको छ । दोगडाकेदार गाउँपालिकामा पनि  ७ नम्बर वडामा सचिव नभएको कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए।  सिगास गाउँपालिकाको वडा नं, ४,७ र ९ गरी तीन वडामा प्राविधिक सहायकहरूले सचिवको काम गरिरहेका छन्। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको ७ नम्बर वडामा सचिव नरहेका नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए। यस्तै, पञ्चेश्वर गाउँपालिकाका ६ वडा मध्ये वडा नं २,४ र ५ मा सचिव नरहेका गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन्। 
शिवनाथ गाउँपालिकाको वडा नं ४ मा पनि सचिव छैनन्‌। मेलौली नगरपालिकाका ९ वडा मध्ये तीन वडामा सचिव छैनन्। वडा नं १,५ र ९ मा प्राविधिक सहायकले काम गरिरहेका नगरपालिकाले जनाएको छ।  वडाहरूमा सचिव नहुँदा दैनिक कामकाज निकै प्रभावित भइरहेको जनाएको छ। स्थानीय बासिन्दाले समयमै सेवा नपाएको समेत गुनासो गर्ने गरेका छन्। बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरि ८४ वडा रहेका छन्।  स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने आशा गरेका नागरिक कर्मचारी अभावमा सेवा नपाएपछि यतिखेर निरास भएका छन्‌। -थाहाखबर