मिडिया मालिकसँग प्रधानमन्‍त्रीको प्रश्न : छोयो भने करेन्ट लागेजस्तो उफ्रिहाल्ने ?

मिडिया मालिकसँग प्रधानमन्‍त्रीको प्रश्न : छोयो भने करेन्ट लागेजस्तो उफ्रिहाल्ने ?

प्रधानमन्त्री केपी ओलीले सरकारलाई दिनरात गाली गर्ने सञ्चार माध्यमको सहने शक्ति नभएको भन्दै मिडिया मालिकसँग गुनासो गरेका छन् । 

बुधबार साँझ केही दिन अघि गठन भएको मिडिया एलाइन्सका पदाधिकारीसँगको औपचारिक भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् ।

भेटघाटमा लामो मन्तव्य दिएका ओलीले सञ्चार क्षेत्र अरुलाई जे भने पनि छुट पाउने तर अलिकति चिसिक्क हुँदा खपिनसक्नु नहुने प्रवृत्तिले ग्रस्त भएको गुनासो गरेका हुन् । 

‘सरकारलाई गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सञ्चार माध्यमलाई अलिकति चिकिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि ! यसो छोयो भने करेन्ट लागेजस्तो बुरुक्क उफ्रिहाल्ने ।’ 

प्रधानमन्त्री ओलीले सञ्चारकर्मीले सहन सिक्नुपर्नेमा जोड दिए । सञ्चार माध्यमले सरकारको कुरा नसुनेको भन्दै सुझाव दिँदासमेत सुझाव नलिएको ओलीको भनाइ छ । ‘आफू भनेको भन्यै गर्ने तर, यसो नगर्नुहोस् भनेर सुझाव दिए सहन्न भनिहाल्ने’, सञ्चारकर्मीको प्रवृत्तिबारे बोल्दै ओलीले भने । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७७ कात्तिक ७ गतेदेखि कानुनबमोजिम विज्ञापनरहित प्रशारण सेवा (क्लिनफिड) लागू हुने जानकारीसमेत दिएका छन् । 

ओलीले सूचनाको हकसम्बन्धी कानुन अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न सबैलाई आह्वान गरेका छन् । 

मिडिया मालिकसँगको भेटमा ओलीले पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति सरकारले गर्ने बताए । 

‘पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत प्रत्याभूति गर्नेछ’, ओलीले भने, ‘अन्य क्षेत्रहरूमा संभव रहेसम्म सहयोग, सुरक्षा र संरक्षण हुनेछ ।’