आउँदो दसैंलाई लक्षित गरेर उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइदै

आउँदो दसैंलाई लक्षित गरेर उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइदै

आउँदो दसैंलाई लक्षित गरेर उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा बजारमा खसीबोकाको माग उच्च हुने भएकाले सोहीअनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन् । यो वर्ष ५० हजार संख्यामा खसीबोका भित्र्याउन लागिएको हो । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्राउन लागेका हुन् ।
दसैंमा सवैले अनिवार्य रूपमा मासु खाने भएकाले अन्य समयको तुलनमा खसीबोका खपत धेरै हुने गर्छ । यो वर्ष पनि दसैंमा उपत्यका ५० हजार खसीबोका खपत हुने व्यवसायीले अनुमान गरेका हुन् । दसैंलाई लक्षित गरेर निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्न सुरु गरिसकेका छन् । अहिलेदेखि नै बजारमा खसीबोका भित्रिने क्रम बढ्दै गएको व्यवसायीको भनाइ छ । कोरोनाको संक्रमण बढ्दै गए पनि उपत्यकामा खसीबोकाको खपत भने नघटेको व्यवासायीको भनाइ छ । दसैंमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्रिने अनुमान गरिएको व्यवसायी दिपक थापाले जानकारी दिए ।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चाइनाबाट खसीबोका आउने उनले जानकारी दिए । अहिले दैनिक एक हजार संख्यामा खसीबोका भित्रिने गरेका छन,” उनले भने, “घटस्थापना सुरु भएपछि ठूलो संख्यामा उपत्यकामा भित्रिन्छन् ।” यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिकेजी २० देखि ३० रुपैयाँ मूल्य बढ्न गएको उनको भनाइ छ । लकडाउनदेखि नै उपत्यकामा नियमतिरूपम खसीबोका आयात भइरहेको व्यवसायीको भनाई छ । व्यवसायीका अनुसार गत वर्ष जिउँदो प्रतिकेजी ५६० देखि ५७० रुपैयाँ रहेको खसीबोकाको मूल्य बढेर ६ सय रुपैयाँ पुगेको छ । स्थानीय उत्पादनले माग धान्न व्यवसायीले भारतबाट खसीबोका ल्याउने गरेका छन् ।

खाद्य कम्पनीले ३ हजार खसीबोका बिक्री गर्ने
दसैंलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागेको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले यो वर्ष तीन हजार संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्न लागेको हो । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरी उपभोक्ता ठगिने सक्ने भन्दै कम्पनीले बजार मूल्य हस्तक्षेप गर्नका लागि खसीबोका खरिद गर्ने तयारी गरेको हो । १ हजार ६ सय संख्यामा खसीबोका र १ हजार ४ सय संख्यामा च्याङ्ग्रा खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
च्याङ्ग्रा र खसीबोका खरिद गर्नका लागि कम्पनीले ५९ करोड ९८ लाख ४ हजार रुपैयाँ छुट्याएको छ । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा निजी व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्ने हुँदा बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलव्ध गराउनका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरी वितरण गदै आएको छ ।
कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले दसैंलाई लक्षित गरेर यो वर्ष तीन हजार संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्न लागेको जानकारी दिए । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर बिक्री गर्ने गरेको उनले जानकारी दिए । कम्पनीले गत वर्ष १८ करोड ७८ लाख ५ हजार रुपैयाँ लागतमा एक हजार संख्यामा खसीबोका र ३८ करोड ३२ लाख २१ हजार लागतमा २ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो । प्रतिकेजी १० रुपैयाँ छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले विभिन्न जिल्लाबाट खरिद गरेर उपत्यकामा घटस्थपनाको दिनदेखि सहुलियत मूल्यमा बिक्री गर्ने जनाएको छ ।