९०० वर्षअघि एक रातका लागि गायब भएको थियो चन्द्रमा, यस्तो थियो कारण ?

९०० वर्षअघि एक रातका लागि गायब भएको थियो चन्द्रमा, यस्तो थियो कारण ?

सन् १११० मा मध्यकालीन बेलायतका एक लेखकले त्यो वर्ष विनाशकारी भएको लेखेका थिए । त्यस वर्ष भयंकर पानी परेपछि अन्नबाली नष्ट भएका थिए अनि भोकमरीको स्थिति आएको थियो । त्यतिले नपुगेर मे महिनाको एक रात चन्द्रमा नै आकाशबाट गायब भएको थियो । 

‘मे महिनाको पाँचौं रात चन्द्रमा आकाशमा उज्यालो देखिएको थियो अनि बिस्तारै बिस्तारै त्यसको प्रकाश हराउँदै गयो,’ नाम नखुलेका लेखकले पिटरबोरो क्रोनिकलमा लेखे । ‘रात चन्द्रमा पूरै गायब भइदिँदा सर्वत्र अन्धकार भयो । भोलिपल्ट बिहानसम्म चन्द्रमा देखिएन । त्यसपछिको राति चाहिँ फेरि पूर्णचन्द्र उज्यालो देखियो ।’

त्यतिखेर बादल लागेर चन्द्रमा छेकिएको थिएन किनकि ती लेखकले चन्द्रमाको अभावमा ताराहरू चम्किएको वर्णन गरेका छन् । अनि ग्रहण लागेर चन्द्रमा हराएको पनि हैन ।

के कारणले चन्द्रमा गायब भएको हो त ? यसै वर्षको अप्रिल २१ मा साइन्टिफिक रिपोर्ट्स नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, ज्वालामुखीका कारण यसो भएको हो । 

‘चन्द्रमा हराउने यो अद्भुत गतिविधिका पछाडि ज्वालामुखी नै कारण हो,’ अध्येताहरूले लेखे । ‘हिउँको केन्द्र (आइस कोर) हरूको सूक्ष्म निरीक्षण गर्दा युरोप वा एसियामा सन् ११०८ र १११० को बीचमा ज्वालामुखी विस्फोट भएको देखिन्छ ।’ 

ज्वालामुखीका यी घटनाहरूलाई तत्कालीन इतिहासकारहरूले लिपिबद्ध नगरेकाले यिनलाई पछिल्लो पुस्ताले बिर्सियो । ज्वालामुखीका कारण खरानीको मुश्लो उडेर चन्द्रमालाई छेकेको हुन सक्ने र खरानी कैयौं वर्षसम्म संसारभरि उडिरहेको हुन सक्ने अध्येताहरूको भनाइ छ । 

ज्वालामुखीय एरोसोलहरूले चन्द्रमालाई छेकेको मात्र नभई वैश्विक जलवायुमा पनि अवरोध पुर्‍याएको हुनसक्ने अनुसन्धाताले लेखेका छन् । यसले गर्दा चिसो बढेको अनि बेस्सरी पानी परेको हुनसक्ने र सन् १११० मा जीवन कष्टकर भएको हुन सक्ने उनीहरूको भनाइ छ । 

लाइभ साइन्स डट्कमबाट