कोरोना कहरले कैलालीको टिकापुरमा समुदायमा ऐँचोपैँचो बन्द !

कोरोना कहरले कैलालीको टिकापुरमा समुदायमा ऐँचोपैँचो बन्द !

कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पु¥याएको छ। यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ।

गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन्। भजनी नगरपालिका–२ का भागीरथ विकले आजभोली छिमेकीसँग तरकारी ऐँचोपैंचो गरेर खान पनि छोडेको बताए। ‘‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही छाक टार्न सजिलो हुन्थ्यो’’, उनले भने, ‘‘कोरोना भाइरस  सङ्क्रमणको डरले बाडीचुडी खान पनि बन्द भयो। जीवन अलि अप्ठ्यारो भएको छ।’’

गाउँका एक घरमा कुनै चिज भए गाउँभरीको काम चल्ने चलन रहेको थियो। अहिले कोरोनाका कारण गाउँघरमा पैँचो दिने कुरामा आनाकानी गर्ने गरेको विशालनगर शिविर टीकापुरका जयसुर सार्कीले सुनाए। ‘‘हामी विपन्न समुदायका मानिस एउटाको घरमा दाल पकाए अर्कोले तरकारी पकाएर खाने चलन छ’’, उनले भने, ‘‘आजभोलि एक अर्काको घर आजजाउ नै बन्द छ । बाडेर खाए त रोग सर्ला भन्ने डर छ।’’

टीकापुर ४ की रुबिना साउँदको दुई वर्षीय छोरा छ। रुविना र उनीका छिमेकीको आँगन एउटै छ। सधैँ छिमेकीको घरमै खेल्ने छोराले रुबिनालाई निकै पिरोलेको छ। रुविनाका श्रीमान् जागिरे छन्।

‘‘६ महिनादेखि छोरालाई छिमेकीको घर जान दिएकी छैन, उनीहरुले तिम्रो श्रीमान् घरबाहिर निस्कन्छन्, जोखिम छ यहाँ नआउ भन्छन’’, रुबिना भन्दछिन्, ‘‘ठीकै हो, अरुलाई किन जोखिममा पार्नु ? तर बच्चाले मानेको छैन। आँगनमा बार लगाएर बच्चा रोकेकी छु। बाँडीचुँडी खान बन्द भएको त ६ महिना पुग्यो।’’

पछिल्लो समय कोभिड–१९ को जोखिम समुदायस्तरमा फैलिरहकाले नागरिक बढी त्रसित हुन थालेका  बताइएको छ। यो सँगसँगै गाउँघरमा मानिसहरु वल्लोपल्लो घर आउजाउगर्ने आनीबानीमा पनि कमी आएको जानकी गाउँपालिका ५ की कलावती चौधरीले बताए।

‘‘फुर्सदमा छिमेकमा जम्मा भएर गफ गर्ने, समुदायका समस्याबारे छलफल गर्ने चलन थियो’’, उनले भने, ‘‘अचेल त बोल्न पनि डराउँछन्, कामकाजी मानिसको त कोही नजिक पनि पर्न चाहन्न।’’

गाउँघरमा आफन्तबीच घेटघाट हुने,भलाकुसारी गरिने र दुःखसुख बाड्ने चलन सँगसँगै अभाव भएको नुन, तेल लगायतका सामान छिमेकीसँग माग्दा सम्बन्ध नजिक हुने कुरामा सकारात्मक होला। 

कोरोनाको प्रभाव बढिरहेका बेला यसरी आपसी भेटघाट र अ‍ैचोपैचो गर्नु स्वास्थ्यका दृष्टिकोणले जोखिम भएकाले केही समय नगरेकै राम्रो हुन स्वास्थ्यकर्मीहरु बताउँछन्।

‘‘केही समय बाच्नका लागि यसो गरिनुलाई गलत रुपमा नबुझौँ, बाचे फेरि राम्रा चलन अपनाउन सकिन्छ’’, टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने, ‘‘सुरक्षित तवरले सरसापट र सहयोग गर्दा हुन्छ। मानिसलाई हेर्नै नहुने होइन तर सुरक्षित हुनुपर्ने हो। सामाजिक दुरी कायम गरेर कोरोनाबाट बचौँ।’’