सुदूरका ८६ प्रतिशत संक्रमित कोरोनामुक्त

सुदूरका ८६ प्रतिशत संक्रमित कोरोनामुक्त

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ८६.४० प्रतिशत निको भएर घर फर्किएका छन् । हालसम्म ७ हजार ६०४ जना संक्रमित भएकोमा ६ हजार ५७० जना निको भएका छन् । जुन ८६.४० प्रतिशत हो । 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ६९ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । अछामका ४९, डोटीका १७, डडेल्धुराका एक र सेती प्रादेशिक अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। 

योसंगै प्रदेशभरमा कोरोनामुक्त हुनेको संख्या छ हजार ५७० पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभमा ३६ जना संक्रमित थपिएका छन् ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।  

योसंगै प्रदेशभमा कुला संक्रमितको संख्या सात हजार ६०४ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १६ रहेको छ । 

प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा सक्रिय संक्रमित रहेका छन् । कैलालीमा पाँच सय ६७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डोटीमा एक सय १९, बझाङमा एक सय ११, कंचनपुरमा ८९, अछाममा ५९, बैतडीमा ३०, दार्चुलामा २७, डडेल्धुरामा १२ तथा धनुषा र बर्दिया जिल्लाका एक÷एक जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

प्रदेशमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
प्रदेशमा सबैभन्दा बढी कैलालीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

अछाम, बझाङ, बाजुराका दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बैतडी, डडेल्धुरा र कंचनपुरका एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।