कोरोना महामारी विश्वभर १० लाख ४१ हजारभन्दा बढीको मृत्यु

कोरोना महामारी  विश्वभर १० लाख ४१ हजारभन्दा बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सोमवारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ ।     

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ । कुल संक्रमितमध्ये २ करोड ६६ लाख ३१ हजारभन्दा बढी हजार निको छन् भने करीब ७७ लाख ३३ हजार मानिस सक्रिय संक्रमित छन् ।     
     
विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म २ लाख १४ हजार ६११ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।     
     
 कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख नाघेको छ । प्राप्त समाचारअनुसार भारतमा ६६ लाख २३ हजार ८१५ जना कोरोना भाइरस संक्रमित भएको र यस संंक्रमणबाट १ लाख २ हजार ७१४ जनाको मृत्यु भइसकेको छ ।     
     
कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख १५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएकामा १ लाख ४६ हजार जनाको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रशियामा १२ लाख १५ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २१ हजार ३५८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।     
 यूरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।