बैतडीमा दुई जना प्रहरीसहित थप ५ जनामा कोरोना पुष्टि

बैतडीमा दुई जना प्रहरीसहित थप ५ जनामा कोरोना पुष्टि

 बैतडीमा २ जना प्रहरीसहित थप ५ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, पाटन नगरपालिका ५ का एक जना र मेलौली नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

पाटन नगरपालिका ५ का कोरोना संक्रमित पुरुष नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ। उनी अहिले आफ्नो घरमै बसीरहेका स्वास्थ्य कार्यालयले जनाएको छ। काठमाडौंबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका जिल्ला प्रहरी कार्यालयका २ जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। दुबै जनाको स्वास्थ्य अवस्था भने समान्य रहेको छ।

यस्तै मेलौली नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। सोमबार थप ५ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमितको संख्या ४१७ पुगेको छ।

जिल्लामा सक्रिय संक्रमितको संख्या २२ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये ३ जना जिल्ला अस्पतालको आइसोलेसनमा छन् भने दशरथचन्द नगरपालिकाका, पञ्चेश्वर र सिगास गाउँपालिकाका १र१, मेलौली र पाटन नगरपालिकाका ४र४ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै सुर्नया गाउँपालिकामा पनि २ जना सक्रिय संक्रमित रहेका छन्। कोरोनाका कारण बैतडीमा एक जनाको मृत्यु भइसकेको छ।