नेपाल–भारत सीमा जिल्लाहरूको बैठक

नेपाल–भारत सीमा जिल्लाहरूको बैठक

बारा-नेपाल–भारत सीमा क्षेत्रमा हुने हरेक गतिविधिका विषय दुवै देशका सीमाबर्ती अधिकारीहरूबीच सोमबार बाराको कलैयामा बैठक सम्पन्न भएको छ ।
वर्षमा दुई पटक दुवै देशका सीमाबर्ती प्रहरी प्रशासनबीच नियमित हुने बैठकमा विविध समस्या र सामधानका लागि बैठक आयोजना गरिएको हो ।
बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, हातहतियार ओसारपसार, अपराधको सूचना आदान–प्रदान, चोरीनिकासी, हत्या, हिंसा, तस्करी, कोभिड–१९ प्रभाव नियन्त्रण र भारतको बिहार राज्यमा हुन गइरहेको राज्यसभाको निर्वाचनमा बोर्डर शिल, यातायात, आवत–जावत बन्द लगायतका विषयमा छलफल र सहमति भएको बैठकपछि पत्रकारहरूलाई जानकारी गराइएको थियो ।
बैठकमा नेपालको तर्फबाट बारा, पर्सा, रौतहट, चितवन, पूर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, वीरगन्ज भन्सारका पदाधिकारीसहित २६ जना र भारतको तर्फबाट बिहार राज्यका पूर्वी र पश्चिम चम्पारण जिल्लाका सुरक्षा लगायतका २६ जना अधिकारीको सहभागिता थियो ।
बैठकको विषय र सीमाबर्ती समस्याका विषयमा पत्रकारहरूको जिज्ञासामा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले र भारतका तर्फबाट पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्टे«ट शीर्षत कपिल अशोकले प्रष्ट पारेका थिए ।
उनीहरूले सीमामा हुने हरेक गतिविधिको निगरानी र परस्पर सम्बन्ध मजबुद गर्न यो बैठकले ठूलो भूमिका खेल्ने बताएका थिए । खुला सिमानाका कारण दुवै देशमा हुने गरेको असर र प्रभाबकाबारे व्यापक छलफलपछि सकारात्मक निर्णयहरू हुन पुगेको बताएका थिए ।
बारा, पर्सा, रौतहट र बिहार राज्य जोडिएको खुला सीमाना भएकै कारण अपराध, हत्या, हिंसा, तस्करी लगायतका घटना रोक्न यो बैठक बारामै आयोजना गरीएको बताइएको छ दुवै देशका अधिकारीहरूले अपराध न्यूनीकरणको मुख्य एजेण्डामा ब्यापक बहस गरेका थिए । उनीहरूले अपराधमा कमी ल्याउन दुवै देशका सीमाबर्ती सुरक्षा निकायले आपसी समन्वयमा कुनै कसर बाँकी नराख्ने बैठकमा प्रतिबद्धता जनाएको सहभागी एक अधिकारीले बताए ।
बिहान १० बजे सुरु भएको बैठक १ बजे समाप्त भई पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।