निजी विद्यालयलाई प्याब्सन धनगढीको धम्कीपूर्ण पत्र, 'सबै निजी स्कुलमा ओसन पब्लिकेशनको पुस्तक नलगाए कारबाही हुन्छ '

निजी विद्यालयलाई प्याब्सन धनगढीको धम्कीपूर्ण पत्र, 'सबै निजी स्कुलमा ओसन पब्लिकेशनको पुस्तक नलगाए कारबाही हुन्छ '

कैलाली। धनगढीका निजी स्कुलमा ओसन पब्लिकेसनको पुस्तक लगाउन निजी स्कुलको छाता संगठन प्याब्सन धनगढीले उर्दी जारी गरेको छ। 

प्याब्सन धनगढीको कार्य समितिको निर्णय अनुसार सबै निजी स्कुलमा अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्युटर विषय लगाउन उर्दी जारी गरेको हो। ती विद्यालयहरुलाई अनिवार्य रुपमा ओसनकै कम्प्युटर विषय लगाउन संस्थाको कार्य समितिले नै उर्दी जारी गरेको हो।

प्याब्सनको निर्णय नमान्ने स्कुललाई १० हजारदेखि ४० हजार रुपैयासम्म जरिवाना बुझाउन परिपत्र गरिएको छ। साथै निर्णय नमान्ने स्कुललाई कडा कारवाहीको चेतावनी पनि पत्र मार्फत नै दिईएको छ।

 

निर्णय नमान्ने निजी स्कुललाई अनिवार्य रुपमा जरिबाना रकम धनगढीस्थित नवजीवनको अपरेटिभ्समा जम्मा गरेर जरिबाना रकम तिरेको पत्र प्याब्सन कैलालीमा बुझाउन भनिएको छ। प्याब्सन धनगढी अन्तर्गत ५३ विद्यालय आवद्ध छन्। प्याब्सन धनगढीले अघिल्लो वर्ष आयोजना गरेको विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेसनले प्रायोजन गरे वापत स्कुलहरुमा कम्प्युटर किताब लगाउने सहमति गरेको थियो। सो सहमति नमान्ने स्कुललाई धम्कीपूर्ण भाषामा किताब लगाउन भनिएको छ।

प्याब्सन धनगढीका अध्यक्ष पदमवहादुर सावदले भने संस्थाको निर्णय पालन नगर्नेलाई कारवाही गर्न पत्र पठाएको जानकारी दिए। उनका अनुसार ९ वटा विद्यालयले सो पुस्तक लगाउन अटेरी गरेका थिए। जसमध्ये ७ वटा विद्यालयले लगाउने सहमति जनाइसकेका छन्। दुई वटा विद्यालयले भने किताब लगाउन मानेका छैनन्।