सिराहामा खुलेका विद्यालय बन्द गर्ने निर्णय

सिराहामा खुलेका विद्यालय बन्द गर्ने निर्णय

जिल्ला विपद् व्यवस्थापन समिति सिराहाले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उनले बताए ।

यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । निर्णय अनुसार ती स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी उपस्थित गराई पठन पाठन गराउन थालेपछि यस्तो निर्णय लिनुपरेको उनको कथन छ ।

सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायातका साधनहरु सञ्चालन भए नभएको अनुगमन गर्न र परिपालना नगर्नेलाई कारबाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ ।