युवती भारत लैजान नापजाँच, कालो कपडा लगाउनुपर्ने सर्त

युवती भारत लैजान नापजाँच, कालो कपडा लगाउनुपर्ने सर्त

‘राम्रो काम त छैन,’ एक युवक १९ वर्षीय किशोरीसँग भन्छन् । किशोरी लजाएजस्ती देखिन्छिन् । त्यसपछि युवक फित्ताले उनको उचाइ नाप्न थाल्छन् । किशोरी तनक्क तन्किएर उभिन्छिन् । उचाइ ५ फिट ६ इन्च देखिन्छ । युवकले हात देखाउन लगाउँछन् ।

किशोरी दाहिने हातका औंला फिँजाएर देखाउँछिन् । युवकले अर्को हात पनि देखाउन लगाउँछन् । उता अर्को व्यक्ति भिडियो र फोटो खिचिरहेको हुन्छ । नापजाँच सकिएपछि किशोरीलाई कालो कपडा लगाउनुपर्ने सर्त राखिन्छ । अर्की युवतीको पनि यसैगरी नापजाँच हुन्छ । १ मिनेट ३ सेकेन्डको यो भिडियोमा केका लागि शरीर नापजाँच गरिँदै छ भन्ने खुल्दैन ।

सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले शंका लागेर सुनसरीको कोसी गाउँपालिका–८ भन्टाबारीबाट दुई युवालाई पक्राउ गरेर खानतलासी गर्दा उक्त भिडियो बरामद भएको हो । बुधबार धानखेतबाट दगुर्दै दसगजा कटेका कृष्णसवरन गाउँपालिका–४, बनौलीका मोहम्मद साहिल मन्सुरी र सिरहाको लाहान नगरपालिका–१९, कटाहका २९ वर्षीय जीवछकुमार साह पक्राउ परेका हुन् ।

उनीहरूसँगै नापचाँज गरिएका किशोरी र युवती पनि थिए । प्रसिद्ध बाबाको दर्शन गर्ने र पूजामा सहभागी भएबापत ४ लाख रुपैयाँ दिने प्रलोभन देखाएर सप्तरीका ती दुईलाई भारत लैजान लागिएको खुलेको छ । सशस्त्र प्रहरीले चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ ।

भान्टाबारीकै जस्तो घटना असोज ४ गते मोरङको रानीमा भयो । आफू बेचिन लागेको आशंकामा सुनसरीकी १७ वर्षीया किशोरी रानी नाकामा मानव तस्करले छोपेर राखेको अटोरिक्साबाट असोज ४ गते हाम फालेर भागिन् । कुमारी भएकीले पूजामा सहभागी भए ५ हजार रुपैयाँ दक्षिणा र नयाँ मोबाइल दिने प्रलोभन देखाएर ती किशोरीलाई भारत लान खोजिएको थियो ।

उनलाई यसरी लानुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यो घटनामा पक्राउ परेका एक अभियुक्तले बयानमा यो अपराधमा भारत विहारको सहरसा जिल्लाको झिटकैयामा रहेका निर्माण व्यवसायी उनका भिनाजु रन्धीर मण्डल र भिनाजुकै भाइ वीरेन्द्रको समेत संलग्नता छ । फारबिसगन्ज पुर्‍याएर ती किशोरीलाई भिनाजु र उनका भाइको जिम्मा लगाउने योजना रहेको ती अभियुक्तलाई बताएका छन् ।

यी दुवै घटनामा मानव तस्करहरूले नेपाली युवतीलाई भारतमा लगेर बेच्न धार्मिक कार्यक्रममा सहभागी गराउने कथा रचेको प्रहरीको आशंका छ । पैसा कमाउने महत्त्वाकांक्षाले उनीहरू फस्ने गरेका छन् । कतिपयलाई बलि दिनै पनि युवती फकाउन गिरोह गाउँगाउँ पसेको हुन सक्ने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । कान्तिपुरमा खबर छ ।