विश्व बैंकले भन्यो,‘कोरोनाको सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रहरुमा देखियो’

विश्व बैंकले भन्यो,‘कोरोनाको सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रहरुमा देखियो’

काठमाडौ । कोभिड–१९ महामारी लामो समयसम्म रहिरहँदा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा परेको विश्व बैंकले निष्कर्ष निकालेको छ । विश्व बैंकले बिहीवार दक्षिण एशियाको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै महामारीको असर कायमै रहेका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका बताएको हो ।

अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एशियालीहरू चरम गरीबीमा धकेलिएका छन् । नेपालसहित दक्षिण एशियामा नै यस वर्ष हालसम्मकै खराब मन्दी सृजना भएको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२० मा शून्य दशमलव २ प्रतिशतमात्र रहेको र सन् २०२१ मा भने केही बढेर शून्य दशमलव ६ प्रतिशत पुग्ने अनुमान छ । अघिल्ला मन्दीहरूमा लगानी र निर्यात घटेर आर्थिक मन्दी आउने गरे पनि यसपालि भने फरक भएको विश्व बैंकको भनाइ छ ।

परम्परागत रूपमा दक्षिण एशियामा मागको मेरूदण्ड र आर्थिक कल्याणको मुख्य सूचकका रूपमा रहेको निजी उपभोग १० प्रतिशतले घट्ने भएकाले गरीबीको दर पनि बढ्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विप्रेषणमा आउने गिरावटले पनि अति विपन्नहरूले तीव्र गतिमा आय स्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ ।

माल्दिभ्स, श्रीलंका र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने र उनीहरू चरम गरीबीमा धकेलिने सम्भावना रहेको बताएका छन् । यो समाचालाई आजको आर्थिक दैनिक अभियानमा प्रकाशित गरिएको छ ।