हाम्रो छालामा ९ घण्टा रहन सक्छ कोरोना भाइरस

हाम्रो छालामा ९ घण्टा रहन सक्छ कोरोना भाइरस

 जापानले गरेको नयाँ रिसर्चमा नोभल कोरोना भाइरस मान्छेको छालामा ९ घण्टासम्म रहन सक्ने पत्ता लागेको छ । यसैहप्ता जर्नल ‘क्लिनिकल इन्फेक्टिसियस डिजिज’ मा प्रकाशित यस अध्ययनमा ‘क्योतो प्रिफेक्चुअल युनिभर्सिटी अफ मेडिसिन’ का अनुसन्धानकर्ताहरुले कोरोना भाइरस ‘इन्फ्लुएन्जा ए भाइरस’, आइएभीभन्दा बढी समयसम्म मान्छेको छालामा रहिरहन सक्ने पत्ता लगाएका हुन् । सो भाइरस चाहिँ हाम्रो छालामा करिब दुई घण्टासम्म जिवित रहन सक्ने बताइएको छ । 

यसमा अध्ययनकर्ताहरुले एउटा सुरक्षित प्रजनन् मोडल तयार पारेका हुन् र कोरोना भाइरस जस्तो प्याथोजेन मानव छालामा कतिन्जेल रहन सक्छ भन्ने विभिन्न स्याम्पलमा परीक्षण गरेका थिए । यसमा उनीहरुले आइएभी र कोरोना भाइरसबीच उल्लेखनीय अन्तर रहेको पत्ता लगाएका हुन् । दुवै भाइरसलाई पालैपालो ‘म्युकस’ सँग मिसाउँदा कोरोना भाइरस त्यसमा ११ घण्टासम्म रहिरहेको पाइएको हो । 

तर इन्फ्लुएन्जा ए र कोरोना भाइरस दुवैमा इथानोलवा पर्नासाथ १५ सेकेन्डमै ती भाइरस नष्ट भएका हुन् । ह्यान्ड स्यानिटाइजरमा ८० प्रतिशत इथानोल हुन्छ जसकारण यसको प्रयोग गरिरहनुले किटाणुलाई हाम्रो हातमा रहन दिँदैन । तापनि भाइरस ९ घण्टासम्म हाम्रो छालामा रहिरहनुले संक्रमित हुने जोखिम भने बढाइदिन्छ जसले अप्रत्यक्ष रुपमा महामारी नियन्त्रण कठिन बनाइदिने पनि बताइएको छ । यसैले संक्रमणबाट जोगिन हातको उचित सरसफाइ सबैभन्दा जरुरी भएको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । 

महामारीको सुरुवातमा गरिएको रिसर्चहरुमा कोरोना भाइरस प्लाष्टिक र स्टिलको सतहमा पनि तीन दिनसम्म रहिरहन सक्ने पत्ता लागेको थियो ।