भर्चुअल बैठक बापतको भत्ता नपाएपछि सांसदले बैठकमा भाग लिनै छाडे

भर्चुअल बैठक बापतको भत्ता नपाएपछि सांसदले बैठकमा भाग लिनै छाडे

काठमाडौं। मुलुकमा लकडाउन सुरु भएयता संसद्को हिउँदे अधिवेशन बैठक नै नबसी अन्त्य भयो भने बर्खे अधिवेशन बजेट पारितपछि बस्नै सकेन। लकडाउनको सुरुताका संसदीय समितिले भर्चुअल बैठक र पछि भौतिक दूरी कायम गरी बैठक राखेका थिए।

भर्चुअल बैठकमा समितिका सदस्यहरुले बोलेका कुराहरुलाई आधार मानेर समितिले निर्देशन सुझाव दिनेकाम पनि ग(यो। कतिपय कार्यान्वयन पनि भए तर सांसदले भर्चुअल बैठक बापतको भत्ता पाएनन्।

‘भर्चुअल बैठकमा भत्ता नपाएपछि कतिपय सांसदले बैठकमा भाग लिनै छाडे,’ संसद् सचिवालयका एक अधिकारले भने। संसद् नियमावली २०७५ ले भर्चुअल बैठकलाई बैठकको मान्यता दिने कुराको व्यवस्था नगरेपछि संघीय संसद्का पदाधिकारी तथा सदस्यको सेवासुविधासम्बन्धी ऐनबमोजिम सांसदलाई बैठक भत्ता दिन नमिलेको संसद् सचिवालयले जनाएको छ। बैठक भत्ता बापत सांसदलाई दैनिक २ हजार रुपैंया तोकिएको छ।

जसमा बैठक भत्तामा एक हजार र यातायात सुविधा बापत एकहजार गरी २ हजार रुपैयाँ दिने व्यवस्था छ। कतिपय प्राविधिक कारण पनि भर्चुअल बैठक प्रभावित हुनपुगेको छ। एकजना सांसदले भने, ‘भर्चुअल बैठक बस्ने हो भने प्रविधको ज्ञान सबै सांसदमा हुनुपर्दछ, भने अन्य कानुनी समस्या छन् भने कसरी हुन्छ मिलाउनु पर्छ।’