कञ्चनपुरमा पारिश्रमिक खर्चेर स्वास्थ्यचौकीमा खानेपानी

कञ्चनपुरमा पारिश्रमिक खर्चेर स्वास्थ्यचौकीमा खानेपानी

पारिश्रमिकवापत पाउने रकम खर्चेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले स्वास्थ्यचौकीमा धारा जडान गरेका छन्। 

वडा कार्यालयमै रहेको पिताम्बर स्वास्थ्यचौकीमा वडाध्यक्ष महराले नगरपालिकाबाट पाउने एक महिनाको पारिश्रमिक वापतको रु २२ हजार रकम खर्चेर धारा जडान गरेका हुन्। स्वास्थ्यचौकीमा खानेपानीको धारा नहँुदा निकै समस्या थियो। स्वास्थ्यचौकी पुग्ने सेवाग्राही र कर्मचारीले खानेपानीकै लागि छिमेकका घरमा पुगेर खानेपानी ल्याउनुपर्ने अवस्था थियो।

“नगरपालिकाबाट बजेटको अख्तियारी नआउँदा योजना सञ्चालन गर्न नसक्ने अवस्था आएपछि पाउँदै आएको पारिश्रमिकबाट धारा जडान गरिदिएँ”, वडाध्यक्ष महरालभने, “समाजले काम गर्नका लागि पठाएको हो। काम गरेवापतको पाइने रकम समाजकै लागि स्वास्थ्यचौकीमा लगाएको हुँ।”

स्वचालित धारा जडान भएपछि स्वास्थ्यचौकीमा चौबीसै घण्टा पानी आउने भएको छ। अटोमेटिक बोरिङ जडान गरी पानीको व्यवस्था मिलाइएको छ। धारा जडान भएपछि स्वास्थ्यचौकी पुग्ने बिरामी र स्वास्थ्यकर्मीले टाढाको वस्तीबाट पानी ल्याउनुपर्ने झन्झट हटेको छ।

स्वास्थ्यचौकीमा दैनिक ३० देखि ७० सम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन्। वडाध्यक्ष महराले अपाङ्गता भएका, अर्थाभाव झेल्दै आएका विपन्न परिवारलाई समेत सहयोग गदआएका छन्।