दशैतिहारमा यात्रुले भरिभराउ हुने धनगढी बसपार्क सुनसान, महङ्गो भाडाले यात्रु मर्कामा !

दशैतिहारमा यात्रुले भरिभराउ हुने धनगढी बसपार्क सुनसान, महङ्गो भाडाले यात्रु मर्कामा !

धनगढी । देशैतिहारमा यात्रुले भरिभराउँ हुने धनगढी बसपार्क यो बर्ष सुनसान जस्तै बनेको छ । कोरोना महामारीका कारण यात्रुहरुको चाप यो बर्ष घटेको हो । करिब ६ महिनापछि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरुले दशैतिहारमा पनि यात्रु पाउँन सकेका छैनन् ।

दशैतिहारको समयमा पनि यात्रुहरु नपाउदाँ पहाडी वा पूर्वी रुटहरुमा गाडी खाली गुडाउन बाध्य भएकोे चालकहरु बताउँछन ।  सरकारले लागु गरेको सुरक्षा मापदण्डको नियमले यात्रुहरु सार्वजनिक सवारी साधनमा यात्रा नगर्ने गरेको सवारी धनीहरुको गुनासो छ ।

सरकारले सार्वजनिक सवारी साधनमा यात्रु ५० प्रतिशत कम र भाडा ५० प्रतिशत बढाएको कारण यात्रुहरु ठुलो समस्यामा परेको उनीहरुको भनाई छ । सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीका अध्यक्ष पदम सापकोटाले सरकारले लागु गरेको सुरक्षा सम्बन्धि मापदण्डले यात्रु घटाएको बताए ।

उनले यात्रुको संख्या कम हुदाँ गाडीहरु पनि घटाएको जानकारी दिए । सरकारले लागु गरेको सुरक्षा मापदण्डका नियम सबै क्षेत्रमा लागु नभएको उनको भनाई छ । “सबै क्षेत्रमा जोखिम बराबर छ, हवाई सेवामा खचाखच यात्रु राख्न पाउने’,उनले भने,‘तर सार्वजनिक सवारी साधनमा भने दुई वटा सिटमा एकजना मात्रै यात्रु राख्न पाउनु पर्ने मापदण्ड अपार्दर्शी हो ।”

हवाई सेवामा यात्रु भरीभराउ राख्ने तर सार्वजनिक सवारी साधनहरुमा भने ५० प्रतिशत कम यात्रुहरु राख्दै ५० प्रतिशत भाडा बढाउने नियम नै नियम गलत भएको भन्दै उनले विरोध जनाएका छन । यसरी भाडा बढाएका कारण यात्रुहरुले सार्वजनिक सवारी साधनमा नचढ्ने गरेको उनको दावी छ ।  

सर्वसाधारण जनतालाई भाडा महङ्गो भएका कारण यात्रुहरु मर्कामा परेका छन । सार्वजनिक सवारी साधनमा सिट बराबर यात्रुहरु राख्न पाउनु पर्ने भन्दै उनले यो नियम तुरुन्त खारेज गरिनु पर्ने बताए ।