बैतडीको पाटन नगरपालिका स्वास्थ्य सेवामा उत्कृष्ट

बैतडीको पाटन नगरपालिका  स्वास्थ्य  सेवामा  उत्कृष्ट

बैतडीको पाटन नगरपालिका स्वास्थ्य सेवा जिल्लाका १० ओटै स्थानीय तहमध्येकै उत्कृष्ट ठहरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले वार्षिक समीक्षामा शनिबार नगरपालिकालाई उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत एवम् सम्मानित गरेको हो। 

मुख्यमन्त्री त्रिलोचन भट्टले पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलाई नगरपालिकाले प्राप्त गरेको ४० हजार पुरस्कार र सम्मानपत्र एक कार्यक्रमकाबीच हस्तान्तरण गरे।

प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका स्थानीय तहमध्ये प्रत्येक जिल्लाका एक एकओटा स्थानीय तहहरुलाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत गरेको हो। स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको योगदान, कार्यक्रम कार्यान्वयनलगायत विषय हेरर स्थानीय तहहरुलाई अङ्क दिएर उत्कृष्ट छनोट गरिएको जनाएको छ।

यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयले छनोटका आधार तय गरेको र ती आधारमा उच्च अङ्क प्राप्त गर्ने पालिकालाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत एवम् सम्मान गरिएको हो। जिल्लाका १० ओटै स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएकाले सबैको सहयोगले यो उपलब्धि हाँसिल भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्ट र स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पुरस्कृत एवम् सम्मानित गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको सम्मानले आफूमा अझै थप जिम्मेवारी थपिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

यस्तै कोभिड–१९ को महामारी नियन्त्रणमा भूमिका खेलेको भन्दै स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति एवम् जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशी पनि पुरस्कृत एवम् सम्मानित भका छन्।

यस्तै हाट जिल्लाको स्वास्थ्यचौकीका ल्याब असिष्टेन्ट डम्बर कुँवर पनि सम्मानित एवम् पुरस्कृत भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका विभिन्न पदमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई पुरस्कृत एवम् सम्मानित गरेको हो।  

यसैबीच कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, बझाङ्गको जयपृथ्वी नगरपालिका र दार्चुलाको नौगाड गाउँपालिका पनि उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत भएका छन्।