यसकारण बग्छ महिलामा सेतो पानी

यसकारण बग्छ महिलामा सेतो पानी

आस्था श्रेष्ठ / स्त्रीरोग विशेषज्ञ, वयोधा अस्पताल

महिलामा सेतो पानी बग्ने कारण दुई किसिमका हुन्छन्, एउटा प्याथोलोजी र अर्को फिजियोलोजिकल । प्याथोलोजिकल भनेको शरीरमा लाग्ने अन्य रोगका कारण हुने हो । फिजियोलोजिकल भनेको शरीरमा कुनै रोग नलागी हुने समस्या हो । हाम्रो शरीरमा दुई किसिमका ग्रन्थि हुन्छन् । ती ग्रन्थिबाट पानी निस्कन्छ । महिनावारी हुनुभन्दा पाँच दिनअगाडि र महिनावारी भएको १४ दिनमा धेरै पानी बग्ने समस्या आउँछ । यस्तो अवस्थामा डराउनु पर्दैन । तर, अरू दिन पनि पानी बगिरहेको खण्डमा हामी चिकित्सककहाँ जानुपर्छ । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा सेतो पानी बग्ने समस्या धेरै देखिएको पाइन्छ । कतिपयले लाजका कारण समस्या लुकाउँदा अन्य ठूला विभिन्न रोग लाग्ने गर्दछ ।

 

साना बालिकाहरूमा पनि सेतो पानी बग्ने समस्या हुन सक्छ । उनीहरूको योनि सफा नभएमा, जुका परेमा, फोहोर भएमा पानी बग्ने हुन्छ । बच्चालाई यस्तो समस्याबाट बचाउन हामीले बच्चाको सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

१५ देखि ५० वर्ष उमेर समूहका महिलामा सेतो पानी बग्ने गर्छ । यो उमेर महिलाको बच्चा जन्माउन सक्षम उमेर हो । पाठेघरमा हुने क्यान्सर, पाठेघर खस्दा राखिएको चुरा समयसमयमा नफेर्दा, योनि र पाठेघरमा हुने जुनसुकै संक्रमणको कारण पनि पानी बग्ने समस्या हुन्छ ।

 

५० वर्षभन्दा माथिका महिलामा सेतो पानी बग्ने समस्या देखिएको हुन्छ । यो उमेर समूहका महिलामा पाठेघरमा हुने जुनसुकै क्यान्सर लागेको खण्डमा पनि पानी बग्ने समस्या हुन सक्छ । यस्तो महिलामा थोरै पानी बग्ने, तर एकदमै गनाउने पानी बग्ने हुन्छ । यो उमेरका महिलामा बिस्तारै हर्मोनको कमी हुँदै जान्छ । शरीरमा हुने हर्मोनको कमीका कारण पनि महिलामा सेतो पानी बग्ने समस्या आउँछ । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा सेतो पानी बग्ने समस्या हुन्छ । चार किसिमले महिलाको योनिमा संक्रमण हुन्छ ।

 

योनिमा हुने संक्रमणबाट कसरी बच्ने ?
-दिनदिनै योनि सफा गर्नुपर्छ ।
-योनिलाई सफा पानीले धुनुपर्छ । साबुनले धुँदा योनि सुक्खा हुन्छ र चिलाउने हुन्छ ।
-विवाहित महिलामा योनिमा संक्रमण भए श्रीमान्–श्रीमती दुवैजना अस्पताल जानुपर्छ । यदि एकजना मात्र अस्पताल जाँदा फेरि पनि रोग सर्ने समस्या हुन सक्छ ।
-हरेक दिन अन्डरवेयर चेन्ज गर्नुपर्छ ।