त्रिविका उपप्राध्यापक कुटेको आरोपमा नेविसंघका कार्यकर्ता पक्राउ

त्रिविका उपप्राध्यापक कुटेको आरोपमा नेविसंघका कार्यकर्ता पक्राउ

 त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटेको आरोपमा नेपाल विद्यार्थी संघका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रविन लामा र रुपेश शाह छन्। रविनलाई भक्तपुर र रुपेशलाई सिरहाबाट पक्राउ गरिएको हो। चलाउने समाजशास्त्रका उपप्राध्यापक हुन्। रविन त्रिविका समाजशास्त्रका विद्यार्थी भएको बताइएको छ।

समाजशास्त्र विभागको कार्यलयतर्फ गइरहेका बेला चलाउनेमाथि असोज २० गते कुटपिट भएको थियो। दुईवटा मोटरसाइकलमा आएका समूहको कुटपिटबाट सख्त घाइते चलाउनेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनको उपचार भइरहेको छ।

समाजशास्त्र विभागमा नेवि संघले लगाएको ताला फोरिएपछि रिस साध्न चलाउनेमाथि आक्रमण भएको अनुसन्धानरत अधिकारी बताउँछन्। घटनामा संलग्न अझै केही फरार रहेको प्रहरीले जनाएको छ।