कोरोना संक्रमितले यसकारण दिन नपाउने छैनन् लोक सेवाको परीक्षा ?

कोरोना संक्रमितले यसकारण दिन नपाउने छैनन् लोक सेवाको परीक्षा ?

काठमाडौँ — लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तयारी गरेको छ । लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ । संक्रमित वा संक्रमितको सम्पर्कमा आएका कतिपय व्यक्तिको उमेर हद पूरा हुने अवस्था पनि हुन सक्छ ।

गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ । असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ ।

पहिलो चरणको परीक्षा सम्पन्न भएर परिणामसमेत आइसकेका विभिन्न तहको दोस्रो चरणको लिखित परीक्षासमेत आयोगले थाल्दै छ । आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परीक्षा लिने स्पष्ट पारेको छ । त्यसका लागि एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

आयोग अध्यक्ष उमेश मैनालीले विशेष स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा सञ्चालनको तयारी गरिएको बताए । उनले विद्यार्थी स्वयंले आफूलाई संक्रमण भए–नभएको घोषणा गर्नुपर्ने बताए । वरिष्ठ अधिवक्ता हरि उप्रेती भने कोभिड–१९ संक्रमित भएकै कारण लोक सेवाको परीक्षाबाट युवा परीक्षाबाट वञ्चित हुने अवस्था आउनु राम्रो नभएको बताउँछन् । ‘यस्तै अवस्थामा परीक्षा लिइए धेरै युवा प्रतिस्पर्धाबाट वञ्चित हुनेछन्,’ उनले भने, ‘त्यो अपराधपूर्ण काम हुन जान्छ ।’