हेलिकप्टरमार्फत् सामग्री लगेर दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माणको काम सुरु

हेलिकप्टरमार्फत् सामग्री लगेर दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माणको काम सुरु

दार्चुला । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माणको काम सुरु भएको छ । व्यास गाउँपालिकाको गागामा बाह्रै महिना बस्न मिल्ने गरी सशस्त्र प्रहरीको भवन निर्माणको काम सुरु गरिएको हो । अत्याधुनिक सुविधासहित ४० कोठे भवन बनाउन काम सुरु भएको निर्माण व्यवसायी सुरेश चन्दले बताउनुभयो ।

भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १४ किलोमिटर तल छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो । १० करोड रुपैयाँको लागतमा भवन निर्माण हुनेछ । ठेकेदारले हेलिकप्टरमार्फत् जेनरेटरलगायत सामाग्री छाङरुमा पुर्याएको छ ।

मौसमले साथ दियो भने मंसिरसम्म तल्लो तलामा सशस्त्र प्रहरी बस्ने मिल्ने गरी काम हुने व्यवसायी चन्दले बताउनुभयो । मंसिरदेखि हिमपात सुरु हुने भएकाले काम गर्न सकिँदैन ।

गृहमन्त्री रामबहादुर थापाले गएको असोज ९ गते भवनको शिलान्यास गर्नुभएको थियो । ४० कोठे भवन एक वर्षभित्रै बनाइसक्ने लक्ष्य छ । व्यासको कौवा र तिंकरमा पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने सरकारको तयारी छ । तिंकरमा सशस्त्र प्रहरीको भवन निर्माणका लागि एक करोड बजेट विनियोजन भइसकेको छ ।