आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदै, हामीले कति बेला हेर्ने ?

आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदै, हामीले कति बेला हेर्ने ?

काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।
यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ । अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन ।

हामीले देख्न सक्छौं ?

पृथ्वी र मंगल ग्रह नजिक हुँदा जहिले पनि एउटा अफवाह फैलिन्छ । मानिसहरु मंगल ग्रह मध्यराति चन्द्रमा जस्तै ठूलो देखिन्छ भन्ने हल्ला फैलाउँछन् । तर यो सत्य होइन । तर सत्य के हो भने राति घर बाहिर निस्किएर आकासमा हेरेमा अलि ठूलो ताराजस्तो चम्किलो वस्तु अवश्य देखिन्छ ।

खगोल फोटोग्राफर ड्यामियन पिचले बीबीसीसँग भनेका छन्, ‘यसलाई हेर्न मध्यरात कुर्नु पर्दैन । रात पर्नासाथ अति चम्किलो तारा जस्तो वस्तु आकाशमा सजिलै देखिन्छ । तपाईं झुक्किनु हुने छैन ।’

यदि मंगल ग्रहलाई अझ राम्रोसँग हेर्न चाहेमा आफ्नो घर नजिकको एस्ट्रोनोमी सेन्टरमा गएर टेलिस्कोपबाट हेर्न सकिने खगोलशास्त्रीहरु बताउँछन् ।

मंगलबारको मंगल ग्रहको दृष्य खास मानिएको छ । किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त हुने खगोल फोटोग्राफर डियामियन बताउँछन् ।

मंगल मिसन सक्रिय

ग्रहहरु आ–आफ्नो कक्षमा परिक्रमा गरिरहेका हुन्छन् । यो कक्ष अन्डाकार हुने भएकाले एक विन्दुमा मंगल ग्रह र पृथ्वी नजिक आउँछन् । र फेरि घुम्दै एकअर्काबाट टाढा पुग्छन् ।

हरेक दुई वर्षमा मंगल ग्रह र पृथ्वी नजिक हुने हुँदा मंगल ग्रहमा जाने मिसन यही मौका पारेर पठाइन्छ । किनभने अन्तरीक्ष यात्राको दुरी कम हुन्छ, थोरै इन्धन र थोरै समयमै मंगल ग्रहमा पुग्न सकिन्छ ।
अहिले मंगल ग्रहका तीन वटा मिसन सक्रिय छन्– युएईको होप ओर्बाइटर, चीनको तियानमेन अर्बाइटर एण्ड रोबर र अमेरिकाको पर्सिवियरेन्स रोबर । यी तीनवटै मिसन गत जुलाई महिनामा मंगल ग्रहमा पठाइएको थियो । युएई, चीन र अमेरिकाको यो मिसन सन् २०२१ को फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने छ ।

यसअघि गत सन् २०१८ को जुलाई ३१ मा मंगल ग्रह र पृथ्वी नजिक आएका थिए । त्यसको दुई महिना अघि नासाले मंगल ग्रहको मिसन लन्च गरेको थियो ।

सन् २००३ मा मंगल ग्रह र पृथ्वीबिचको दुरी ३४।८ माइल थियो । अब सन् २०३५ सम्म पृथ्वी र मंगल ग्रह यति नजिक हुने छैनन् ।

मंगल ग्रहलाई ‘रातो ग्रह’ पनि भनिन्छ । यसको सतहमा आइरन अक्साइडको मात्रा अत्यधिक रहेकाले यो रातो देखिन्छ ।

पृथ्वीको जस्तै मंगल ग्रहमा उत्तर र दक्षिणी ध्रुव छ, जुन बरफले ढाकिएको छ । यहाँको न्यूनतम तापक्रम माइनस १४० डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिकहरु बताउँछन् । मंगल ग्रहको अधिकतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाको एक दिन हुन्छ । तर त्यहाँ वर्ष भने पृथ्वीको भन्दा करिब दुई गुणा लामो हुन्छ । किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ ।