विश्वमै पहिलो पटक दुधिलो रङको दुईवटा सेतो करेत सर्प नेपालमा भेटियो

विश्वमै पहिलो पटक दुधिलो रङको दुईवटा सेतो करेत सर्प नेपालमा भेटियो

काठमाडौँ। विश्वमै पहिलो पटक दुधिलो रङको दुईवटा सेतो करेत सर्प नेपालमा फेला परेको छ । दुईवटा दुधिलो सेतो रङको करेत जनकपुरमा फेला परेको हो ।
कोरोना भाइरस (कोभिड–१९) बन्दाबन्दीको समयमा वैशाख–जेठमा धनुुषाको किसनपुरमा सेतो दुधिलो रङको करेत सर्प फेला परेको छ । मिथिला वाइल्ड लाइफ ट्रस्टका सदस्यहरूले सेतो सर्प देखेपछि त्यसकोे उद्धार गरेका थिए । कालो, खैरो र मिश्रित रङका करेत सर्प पाइन्थे तर सेतो रङको अचम्मको सर्प देखेपछि स्थानीय समेत अन्योलमा परे । ट्रस्टका सदस्य गणेश शाहले उद्धार गरेर सर्पका बारेमा अध्ययन गरिरहेकालाई खबर गर्नुभयो ।
नेपालमा छ प्रजातिका करेत सर्प पाइन्छ । जसमध्ये कमन करेत जताततै पाइन्छ । यसको डसाईमा पर्ने मानिसको सङ्ख्या बढी हुन्छ । छवटा प्रजातिमध्ये दुईवटा प्रजातिको करेत दुधिलो रङमा विश्वमै पहिलो पटक फेला परेको दाबी अध्येता कमल देवकोटाले गर्नुभयो । ग्रेटर ब्ल्याक करेत अधिक विषालु सर्प हो । यही प्रजातिमा पूरै दुधिलो सेतो रङको करेत नेपालमा फेला परेको उहाँले जानकारी दिनुभयो ।
उहाँसँगै अध्येता देवनारायण मण्डल, गणेश शाह, मार्क ओशिया र हिनरिच कैशरले विश्वव्यापी रूपमा यस प्रजातिको अध्ययन थाल्नुभयो । “अध्ययनका क्रममा करेत हो भनेर त थाहा भयो तर कुन प्रजातिको हो भनेर पत्ता लगाउन थप अध्ययन ग¥याँै,” देवकोटाले भन्नुभयो ।
उहाँका अनुसार करेतको हरेक प्रजातिको फरक थाहा पाउन यसका कत्ला, आँखा र ढाडको बनावटको विस्तृत अध्ययन गर्नुपर्छ ।
झण्डै चार महिनाको अथक् अध्ययनपछि यो दुर्लभ सेतो करेत सर्प विश्वका अन्यत्र नपाएको निधो गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरियो । जस अनुसार यो दुई प्रजातिमा सेतो दुधिलो रङको करेत सर्प नेपालमा मात्र पाइएको उल्लेख छ ।
नेपालमा ग्रेटर ब्ल्याक र वाल्स करेत दुवै प्रजातिका सर्प त्यति धेरै भेटिन्न । त्यसमाथि दुधिलो सेता रङको भेटिनु अर्को आश्चर्यको विषय रहेको अध्येताहरूको भनाइ छ । त्यसैले यसले टोकेको अवस्थामा त्यसको विष प्रतिरोध (एन्टी भेनम) बनेर आएको छैन । -गोर्खापत्रअनलाईन