सट्टेबाजीमा हारेको पैसा उठाउन अपहरण गरी बन्धक बनाउँदै कुटपिट सम्म !

सट्टेबाजीमा  हारेको पैसा उठाउन अपहरण गरी बन्धक बनाउँदै कुटपिट सम्म !

विराटनगर : यूएईमा जारी क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी लगाउँदा हारेको पैसा उठाउने क्रममा युवाहरुबीच भएको विवादलाई मोरङ प्रहरीले अनुसन्धानको विषय बनाएको छ। 

भित्रभित्रै गोप्य तरिकाले पैसाको बाजी लगाएर अनलाइनमार्फत हुने गरेको अवैध जुवाजन्य खेलको विवाद सामाजिक सञ्जाल फेसबुकबाट बाहिरिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान थालेको हो। बाजी लगाउँदा हारेको रकम उठाउनलाई व्यक्तिको अपहरण, शरीर बन्धक एवं कुटपिट गरिएको विषय बाहिरिएको छ। यस घटनामा प्रहरीले नेपाली कांग्रेसको भातृ संगठन तरुण दल विराटनगरका नेता विराटनगर महानगरपालिका–११ का २५ वर्षीय रोनल कँडेलमाथि अनुसन्धान थालेको छ। 

कँडेलको समूहले रकम उठाउने नाममा सुनसरी दुहवी घर भई विराटनगरमा बस्ने २६ वर्षीय सञ्जय सिंघललाई नियन्त्रणमा लिएर अपहरण गर्दै गत बिहीबार रातभर होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोप रहेको प्रहरीका एक अधिकृतले जानकारी दिए। उनका अनुसार बिहीबार बेलुका सिंघललाई घरमा बोलाउँदै नियन्त्रणमा लिएर विराटनगरकै होटल श्री कृष्णको माथिल्लो तलामा लगेर कँडेल समूहले कुटपिट गरेको विषय बाहिर आएको छ। 

सिंघलले रातभर होटलमा बन्धक बनाएर आफूमाथि कुटपिट गरिएकोभन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि घटना बाहिरिएको हो। भोलिपल्ट आफूसँग रहेको चेकमा जबरजस्ती आठ लाखको हस्ताक्षर गर्न लगाउँदै कँडेलले लिएर गएको आरोप फेसबुमा सिंघलले लगाएका छन्। कुटपिट गरेपछि होटलको खर्च तिर्न भन्दै कँडेलले भोलिपल्ट बिहान ५० हजार रुपैयाँ आफूसँग मागेको उनले शनिबार गरेको फेसबुक पोस्टमा उल्लेख छ। पैसा दिने बाहानामा आफू फुत्किएर बचेको सिंघलले उल्लेख गरेका छन्। तर सिंघल र कँडेल दुवै जना सट्टेबाज रहेको प्रहरी दाबी छ। ‘सट्टेबाजीमा पैसा हारेपछि दुई जनाबीच हिसाब नमिल्दा घटना भएको देखिन्छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘जितेको भए कतै जान्थे होला, तर हारेपछि यस्तो अवस्था आयो।’

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट कँडेलको पैसा लगेर सिंघलले सट्टेबाजीमा हारेको देखिन्छ। त्यही पैसा उठाउने नाममा कानुन हातमा लिएर घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ। अनलाइनमार्फत सट्टेबाजीमा लगाएको र कारोबार भएको तथा हारेको रकमका बारेमा अनुसन्धान थालिएका कारण थप विषय खुल्दै जाने एसपी खड्काले बताए। उनका अनुसार सिंघलले फेसबुकबाट घटना सार्वजनिक गरेपछि कँडेल अवैध रुपमा सट्टेबाजी खेल्ने र खेलाउनेहरुको लिस्ट बोकेर सूचनाकर्ता बन्दै प्रहरी कार्यालयमा आएका थिए। 

दुवै जना आईपीएलमा सट्टेबाजी लगाउन सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘दुवै जना सट्टेबाज हुन्। तर बाजी लगाएको पैसा हारेपछि हिसाब नमिल्दा उत्पन्न विवादका कारण एकअर्कालाई दोष लगाएर चोखिने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘एक जनाले फेसबुकमा घटना सार्वजनिक गरे। अर्का चैं सट्टेबाजको सूची बोकेर सूचनाकर्ता बन्दै प्रहरीमा आए।’ 
आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएका कँडेल बिरामी परेपछि नोबेल अस्पतालमा भर्ना गरिएको छ। एसपी खड्काले उपचार ठीक भइसकेपछि बुझाउने सर्तमा उनलाई तत्कालका लागि हाजिरजमानीमा छाडिएको बताए। कँडेल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको मोरङ क्षेत्र नम्बर–६ का अघोषित उप–सभापति रहेको बताइएको छ। सट्टेबाजीमा उनीहरुको कनेक्सन खोतल्दै सिंघलमाथि भएको घटनामा संलग्न अरुको पनि खोजी थालिएको प्रहरीले जनाएको छ। 

सट्टेबाजीलाई कानुनले पूर्ण रुपमा निषेध गरेको छ। प्रहरीका अनुसार कुनै पनि खेलकुद प्रतियोगिता एवं विभिन्न गतिविधी र समसामयिक परिवेषको पक्ष एवं विपक्षमा आनलाइनमार्फत ठूलो रकम बाजी लगाएर अवैध रुपमा हुने प्रतिबन्धित खेल हो सट्टेबाजी। 

प्रहरीले दुई साताअघि पनि सट्टेबाजी खेल्ने, खेलाउने तीन जनालाई विराटनगरबाट पक्राउ गरेर जुवा वा सट्टेबाजी ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको छ। सट्टेबाजीमा ठूलो रकमको हार जीत हुने गरेको पाइएपछि प्रहरीले नियन्त्रणका लागि विराटनगरमा विशेष अप्रेशन चलाएको छ। दुवै घटनाको अनुसन्धानबाट जरोसम्म पुग्दै सट्टेबाजीको सञ्जाल भत्काउने योजना प्रहरीको रहेको एसपी खड्काले बताए। यो खबर अन्नुर्णपोष्टमा किशोर बुढाथाकीले लेखेका छन् ।