दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण स्थलबारे टुङ्गो लगाउन सह–सचिवको संयोजकत्वमा अध्ययन समिति गठन

दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण स्थलबारे टुङ्गो लगाउन सह–सचिवको संयोजकत्वमा अध्ययन समिति गठन

धनगढीः कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण स्थलबारे टुङ्गो लगाउन सह–सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय द्धिपक्षीय तथा क्षेत्रिय व्यापार महाशाखाले मन्त्रालयका सह–सचिव प्रकाश दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो। समितिमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत, मालपोत कार्यालय, नापी कार्यालय, सडक डिभिजन कार्यालय, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सदस्य छन्।

यस्तै नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रतिनिधि सदस्य र मन्त्रालयका उप सचिव अनिता पौडेल सदस्य सचिव छन्।

उक्त समितिले प्राविधिक तथा अन्य पक्षको अध्ययन गरी सुख्खा बन्दरगाह निर्माण स्थलबारे अध्ययन गरी आधिकारिक धारणा तयार गर्नेछ। भारतले नेपाल भारत सीमाको पिल्लर नम्बर ८०२/१ र ८०२/२ सँगै बनबासा एकिकृत जाँच चौकी निर्माण गरिरहेको समेत मन्त्रालयले जनाएको छ।

सरकारले २०६४ सालमा कञ्चनपुरको महाकाली नगरपालिकाको कन्जभोजमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव गरेको थियो। निर्माणको चर्चा चलेको १३ वर्ष सम्म सुख्खा बन्दरगाहको योजना अलपत्र छ।