नेम्वाङको टेलिफोनपछि कर्णालीमा मन्त्रीको राजीनामा रोकियो

नेम्वाङको टेलिफोनपछि कर्णालीमा मन्त्रीको राजीनामा रोकियो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेललाई थप कदम नचाल्न नेकपा नेता सुवास नेम्वाङले सुझाव दिएका छन् । पार्टीको प्रतिनिधिसभाका संसदीय दलका उपनेता नेम्वाङलाई मंगलबार बिहान कँडेलले टेलिफोन गरेर अब चाल्नुपर्ने प्रक्रियाबारे सुझाव मागेका थिए ।

तर, नेम्वाङले पार्टीका दुई अध्यक्ष छलफलमा जुटकाले प्रधानमन्त्रीको निर्देशन नआएसम्म कुनै प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका छन् । त्यसअगाडि त्यहाँका मन्त्रीहरुले नेम्वाङसँग टेलिफोन सम्वाद गरेका थिए । ‘मैले राजीनामा नदिनुहोस् भनेको छु, राजीनामाले समस्या झनै बढाएर लैजान्छ’, नेम्वाङले भने ।

नेम्वाङको टेलिफोनपछि कर्णालीमा अविश्वासको प्रस्तावका पक्षमा रहेका मन्त्रीहरुले राजीनामा दिएका छैनन् । अविश्वासको प्रस्ताव दर्ता गराउने नेतृत्व गरेका यमलाल कँडेलको पक्षमा कर्णाली प्रदेशमा दुई मन्त्री छन् । कँडेलको सिफारिसमा मन्त्री भएका दल रावल र सुन्दाससिंह बुढाले राजीनामा गर्न लागेको नेम्वाङलाई जानकारी दिएका थिए । तर, नेम्वाङले उनीहरुलाई राजीनामा नदिन र थप कुनै प्रक्रियामा सामेल नहुन निर्देशन दिएका छन् ।

मन्त्रीहरुलाई राजीनामाबाट रोकेपछि प्रदेश सहइन्चार्ज समेत रहेका कँडेलले नेम्वाङलाई फोन गरेका थिए । तर, नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि बढाउनेबारे हतारो नगर्न सुझाव दिएका छन् । आइतबार कँडेलको नेतृत्वमा नेकपाका १८ सांसदले मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव पेश गरेका थिए ।