बन्दाबन्दीमा फरार सूचीका ४८ जना पक्राउ

बन्दाबन्दीमा फरार सूचीका ४८ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ ।

समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता ४८ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जबर्जस्तीकरणी उद्योग, चोरी, सवारी ज्यान, तस्करी, लागुऔषध कारोवार, आत्महत्या दुरुत्साहन र बहुविवाहलगायत मुद्दामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको बताए । पक्राउ पर्नेमा चार महिला अभियुक्तसमेत रहेका प्रहरीले जनाएको छ ।

“जिल्ला अदालतबाट कैद सजाय तोकिए अभियुक्तलाई कारागार पठाउने र फैसला नभएको हकमा पुनः अनुसन्धान गर्ने काम हुँदैछ”, प्रवक्ता थापाले भने, “फरारमध्ये धेरै त घरमै अब प्रहरी खोज्दैन होला भनेर बसिरहेको अवस्थामा पनि भेटिए ।” उनलेअभियुक्त प्रक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतको युनिट सक्रिय रहेको जानकारी दिए ।

“फरार पक्राउ गर्नमा हामीलाई मुद्दाका पीडितको पनि सहयोग छ”, उनले भने, “अपराध गरेर दुई चार वर्ष फरार भए पनि एकदिन कानूनी सजायको भागीदार हुनैपर्छ ।”