उद्योगमन्त्री भट्टको दाबी-मूल्यवृद्धि भएको छैन

उद्योगमन्त्री भट्टको दाबी-मूल्यवृद्धि भएको छैन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको दाबी गरेका हुन्। 

लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको उल्लेख गरेका हुन्। तर विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टको भनाइ छ।

‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ। त्यसैले कहीँ पनि समस्या आएको छैन। केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला। नत्र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा महँगी बढेको छैन। अब एकाध वस्तुमा हुने स्वभाविक हो। हिजोपनि हुन्थ्यो,’ उनले भने। 

अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि उनको भनाइ छ। निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले उल्लेख गरे।

आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत मन्त्री भट्टले गरे। कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनको भनाइ छ।