नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई दिएका छन् ।
मुख्यमन्त्री शाहीले मंगलबार शीर्ष नेताको सहमतिपछि कुर्मराजलाई सचेतक नियुक्त गरेका हुन् । मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।
नेपाली प्रमुख सचेतक बनेपछि शाहीले मंगलबार कुर्मराजलाई उक्त जिम्मेवारी दिएका हुन् ।कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध आइतबार गुलाबजङ्ग शाहलगायत पार्टीकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यहाँको राजनीति तातेको छ ।
प्रदेशको समस्या समाधान केन्द्रबाट गर्नेगरी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका थिए । यसै बीचमा वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि पहल गरेका छन् । नेता नेपालको पहललाई गुटगत सहमतिको संज्ञा दिइएको छ ।