हजार किलोको फर्सीले जित्यो फर्सी प्रतियोगिता

हजार किलोको फर्सीले जित्यो फर्सी प्रतियोगिता

अमेरिकाको क्यालिफोर्नियास्थित हाफ मुन बेमा भएको फर्सी प्रतियोगिता १ हजार ६६ किलोको फर्सीले जितेको छ।

हाफ मुन बेमा वर्षैपिच्छे सो प्रतियोगिता हुने गर्छ। प्रतियोगिताको यो ४७ औँ संस्करण हो। मिनोसेटाका ४० वर्षीय बागबानी शिक्षक ट्राभिस गिंगरले सो फर्सी फलाएका हुन्। महामारीका बेला गिंगरले धेरैजसो समे घरपछाडि रहेको फर्सीको हेरचाहमा बिताएका थिए। उनले दिनमै १० पटकसम्म पानी र कम्तीमा दुई पटक मल हाल्ने गरेका थिए।

फर्सी गाडीमा बोकेर ३५ घण्टाको यात्रा गरी उनी प्रतियोगितास्थल पुगेका थिए। ‘साह्रै कठिन यात्रा थियो। धक्का लागेपछि फर्सी फुट्ने हो कि भनेर तर्सिन्थेँ,’ उनले भने।

पुरस्कारस्वरुप उनले १६ हजार ४५० डलर हात पारेका छन्। सन् २०१८ मा १ हजार १३४ किलोको फर्सीले यो प्रतियोगिता जितेको थियो। सन् २०१६ मा बेल्जियमका एक किसानले १ हजार १७९ किलोको फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका थिए।