बिषको भण्डार बन्दैछ शरीर, यी ७ तरीकाले गर्न सकिन्छ शुद्धिकरण !

बिषको भण्डार बन्दैछ शरीर, यी ७ तरीकाले गर्न सकिन्छ शुद्धिकरण !

खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।

हामीले खाएका सबै खानेकुरा ताजा, सुपाच्य हुँदैनन् । त्यसमाथि चिल्लोचाप्लो, मसलेदार खानेकुरा, जंकफूड, मदिराजन्य पेय आदिलाई शरीरले पचाउन सक्दैन । कहिलेकाहीँ आवश्यक्ताभन्दा बढी खानेकुरा पनि खान्छौं । यसैगरी हामीले खाने कतिपय खानेकुरा विषाक्त हुनेगर्छ । यस्ता खानेकुरा खाइरहँदा शरीरमा विकार जम्मा हुन थाल्छ । यसैगरी पर्यावरणमा रहेको धुलो, धूँवाले पनि शरीरलाई विकारयुक्त बनाइदिन्छ । त्यसमाथि हाम्रो निस्क्रिय जीवनशैली अर्को कारण बन्छ ।

जति जति शरीरमा विकार जम्मा हुँदै जान्छ, शरीर रोगी र जीर्ण हुन्छ । अतः बेलाबखत शरीरको शुद्धिकरण जरुरी छ । यसका लागि खानपान र जीवनशैलीमा सामान्य परिवर्तन गरे पुग्छ ।

उपवास

शरीर शुद्धिकरणको सबैभन्दा सरल र प्रभावकारी विधी हो, उपवास । बेलाबखत एक दिनको लागि सम्पूर्ण छाक छाड्न सकिन्छ । संभव भएसम्म हप्तामा एक पटक उपवास बस्न उचित हुने बताइन्छ । यद्यपि शारीरिक श्रम गर्ने वा कुनैपनि किसिमको शारीरिक समस्या भएकाहरु र औषधि सेवन गरिरहेकाहरुले आफ्नो स्थितीलाई हेरेर मात्र उपवास बस्नु उचित हुन्छ ।

कुनैपनि ठोस खानेकुरा सेवन नगरी बस्दा पाचन यन्त्रलाई विश्राम मिल्छ । साथसाथै शरीरमा भएको विकार पनि क्रमस हट्छ ।

व्यायाम

शारीरिक व्यायाम शरीर शुद्धिकरणको प्रभावकारी विधी हो । हरेक दिन तीस मिनेट पूर्णताका साथ व्यायाम गर्दा पनि शरीरमा विकार जम्मा हुन पाउँदैन । दिनमा एक पटक पसिना निकाल्नु उचित हुन्छ, चाहे शारीरिक श्रम गरेर होस वा व्यायामबाट । त्यस्तै योगका कतिपय आसन र विधी छन्, जसले शरीरमा भएको विकार बाहिर निकाल्छ ।

ताजा फलफूल

शरीरका विकार हटाउनका लागि ताजा फलफूल निकै उपयोगी हुन्छ । यसका निम्ति नियमित रुपमा ताजा फलफूल सेवन गर्नुपर्छ । अतः फलफूल मौसम अनुकुल हुन जरुरी छ । अहिले फलफूल उत्पादन, भण्डारण गर्ने क्रममा किटनासक र रसायनहरुको प्रयोग गरेका हुनसक्छ, त्यस्ता फलफूल भने थप हानिकारक हुन्छ ।

ताजा सब्जीहरुको जुस

ताजा सब्जीहरुको जुस पनि शरीरलाई शुद्धिकरण गर्ने राम्रो काइदा हो । यसैले काँक्रो, पालुंगो, ब्रोकाउली, लौका जस्ता हरिया सब्जीहरुको जुस बनाएर पिउनुहोस् । यस बाहेक दिनको सुरुवात स्याउ, अनार, केरा, गाँजर जस्ता फलफूलको जुसबाट गर्नु पनि राम्रो हो ।

पर्याप्त पानी पिउने

पर्याप्त पानीको सेवन शरीर शुद्धिकरणको प्रभावकारी तरिका हो । सामान्यतया वयष्क मानिसले दिनमा २–३ लिटर पानी पिउनु राम्रो मानिन्छ ।

आफ्नो शरीरलाई हाइड्रेट राख्न र शरीरबाट विषाक्त पदार्थहरुलाई निकाल्नको लागि बिहान उठ्नासाथए कम्तीमा पनि दुई गिलास पानी पिउनुपर्छ । यसले रगत र पेटबाट विकारहरुलाई सफा गर्छ । पानीमा कागतीको रस मिसाएर पिउँदा अरु लाभ मिल्छ ।

ग्रीन टीको सेवन

कच्चा र ताजा पत्तीहरुबाट बनेको ग्रिन टीमा भरपूर मात्रामा एन्टीअक्सिडेन्ट हुन्छ जसले शरीरलाई रेडिकल्सबाट बचाउँछ । यसले हाइड्रेट राख्न सहयोग गर्छ र लामो समयसम्म पेट भरि राख्छ । शरीर शुद्धिकरणका लागि ग्रीन टि निकै उपयोगी हुन्छ ।

चिनीको मात्रा नियन्त्रण

आफ्नो खानपानमा चिनीको मात्रा कम गरेमा हामीले आफ्नो शरीर शुद्धिकरण गर्न सक्छौं । यसले मेटाबोलिजमलाई बढाउँछ र सम्पूर्ण स्वास्थ्यलाई राम्रो बनाउनेछ । चीनीको अधिक सेवनले थकानको पनि महसुस हुन्छ । साथै तौल बढ्छ र मधुमेहको कारण बन्न सक्छ त्यसैले आफ्नो खानामा चिनीको मात्रा नियन्त्रण गर्न जरुरी छ ।