बुधबार नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा हुँदै

बुधबार नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा हुँदै

बुधबार नियुक्त भएका मन्त्रीको शपथ बिहीबारहुँदैछ । प्रधानमन्त्रीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । 

बुधबार अर्थमन्त्री पौडेलसँगै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका हुन् । 

नवनियुक्त अर्थ, महिला बालबालिका र सहरी विकासमन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान साढे ११ पद तथा गोपनीयताको शपथ गराउँदै छिन् । 

बुधबार नयाँ तीन मन्त्री थप गर्दै प्रधानमन्त्री ओली उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका छन् । 

यस्तै ओलीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, संवैधानिक निकायका प्रमुख लगाय विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । 

२०७४ फागुन ३ गते सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रीमण्डलमा आंशिक हेरफेर गर्दै एघारौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल नै नगरी मन्त्रिपरिषद हेरफेर गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा वरिष्ठ नेता माधवकुमार नेपाललेसमेत असहमति राखेका छन् ।