नायक फराज खानको मद्दत गर्न तम्सिए सलमान खान, तिरिदिए उपचार खर्च

नायक फराज खानको मद्दत गर्न तम्सिए सलमान खान, तिरिदिए उपचार खर्च

रानी मुखर्जीसँग मेहेन्दी नामको फिल्ममा देखिएका नायक फराज खान यतिबेला बिरामी छन् । उपचारका लागि रकम नभएकोले फराज खानको परिवारले आर्थिक सहायताको गुहार लगाएको छ । यस्तोमा नायकको मद्दतका लागि एकपटक पुनः बलिउडका दबंग स्टार सलमान खान अघि सरेका छन् । उनले फराजको मेडिकल बिलको भुक्तानी गरिदिएका छन् ।

सलमानको यो मद्दतको जानकारी नायिका कश्मिरा शाहले दिएकी हुन् । सलमान खानसँग दुल्हनिया हम ले जाएंगे र कहीं प्यार ना हो जाए जस्ता फिल्ममा काम गरिसकेकी कश्मिराले यो कुराको जानकारी आफ्नो इन्स्टाग्राममार्फत् दिएकी हुन् । उनले सलमान खानको एउटा फोटो साझा गर्दै लेखिन्, ‘तपाईं साँच्चै नै एक असल व्यक्ति हुनुहुन्छ । फराज र उनको मेडिकल बिलको केयर गर्नुभएकोमा धन्यवाद । फरेब गेमका नायक फराज खानको स्थिती नावुक छ र सलमान खान उनको मद्दतमा उत्रिएका छन् । उनले यसरी अन्य थुप्रैको मद्दत गरेका छन् । म एक साँचो प्रशंसक हुँ र सधैं रहनेछु । यदि मानिसहरुलाई मन पर्दैन भने मलाई केही फरक पर्दैन । तपाईंसँग मलाई अनफलो गर्ने सुविधा छ । मलाई लाग्छ कि उनी साँचो मानिस हुँ जसलाई मैले इन्डष्ट्रिमा भेटेको छु ।’

स्मरण रहोस्, बुधबार मात्रै पूजा भट्टले ट्वीट गरेर फराज खानको स्थितीबारे सबैलाई अवगत गराएकी थिइन् । पूजाले मानिसहरुसँग सहयोगको अपिल पनि गरेकी थिइन् । फराज खान पछिल्लो पाँच दिनेदेखि बेंगलुरुको अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका छन् । उनलाई स्नायू सम्बन्धि समस्या छ । फराज खानका भाइ फरहान खानले आफ्नो दाइको उपचारका लागि २५ लाख भारु आवश्यकता भएको बताएका थिए ।