आइपीएलमा आज बैंगलोर र पन्जाबको प्रतिस्पर्धा

आइपीएलमा आज बैंगलोर र पन्जाबको प्रतिस्पर्धा

यूएईमा जारी १३औं संस्करणको आईपीएल टी ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट स्टेडियममा राति पौने ८ बजे सुरू हुने खेलमा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । पन्जाबलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबलाई हराउन बैंगलोरलाई सहज हुने छैन । यस सिजन खराब प्रदर्शन गरिरहेको पन्जाब भने दोस्रो जित हात पार्न चाहन्छ । ७ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

पन्जाबले यस सिजन बैंगलोरलाई नै हराएको थियो । त्यसबाहेक अन्य खेलमा जित निकाल्न सकेको छैन । पन्जाबले पहिलो भेटमा बैंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाब उक्त जितलाई पुनस् दोहोर्‍याउन चाहन्छ ।