कोरोना संक्रमण दोहोरिन सक्छ तर सम्भावना एकदमै कम छ

कोरोना संक्रमण दोहोरिन सक्छ तर सम्भावना एकदमै कम छ

कुनै मानिसमा कोरोना भाइरस संक्रमण दोहोरिने समाचारले धेरैलाई कहाली लगाउन थालेको छ।

यो महामारीले कहिल्यै नछोड्ला, ज्वरोले फेरि सताउला, स्याँस्याँ होला, खोप प्रभावकारी नहोला, लकडाउन होला वा अनन्त कालसम्म यो त्रास रहला भन्ने सोचेरै मानिसहरू दिक्क भइसके।

मान्छेका यी दिक्दारी र शंकालाई अमेरिकाको नेवाडा राज्यमा गरिएको एक अध्ययनले निवारण गर्न खोजेको छ। २५ वर्षीय पुरूषमाथि गरिएको अध्ययनका आधारमा सोमबार प्रतिवेदन पनि प्रकाशन भएको छ।

नाम उल्लेख नगरिएका ती पुरुष फेरि कोरोना भाइरस संक्रमण भएर दोश्रोपटक बिरामी भए। जबकि एकपटक संक्रमित भइसकेकालाई उसको शरीरको रोग प्रतिरोधात्मक शक्तिले बचाउन अभ्यस्त हुने ठानिन्छ।

हालसम्म विश्वभर ३ करोड ८० लाखभन्दा बढीमा संक्रमण देखिए पनि यसरी दोहोरिएर देखापर्ने प्रवृत्ति विरलै छ। त्यसैले विज्ञहरू यसलाई महत्वपूर्ण समाचारका रूपमा लिन्छन्। विज्ञहरूका अनुसार सोमबारसम्म त्यसरी दोहोरिएर देखिएको र वैज्ञानिक पुष्टि भएका घटना मुश्किलले पाँच वटा पुगेको छ।

यो असाध्यै थोरै हो, संसारभरी देखिएको संक्रमणका आधारमा यसलाई ठूलो भाँडोभर अटाएको दूधमध्ये एक थोपा भन्न सकिन्छ, न्यूयोर्कस्थित कोलम्बिया युनिभर्सिटीकी संक्रामकरोग विशेषज्ञ एन्जेला रासमुसेन भन्छिन्।

दोश्रोपटक देखिएको संक्रमणमा असाध्यै सामान्य लक्षण देखिएको पाइएको छ। त्यसलाई नगन्य भन्दा पनि हुन्छ। तर, तीन जना जति, त्यसमा पनि इक्वेडरका संक्रमितमा यो दोहोरिँदा पहिलोपटक भन्दा झनै डरलाग्दो देखिएको थियो। त्यसैगरी नेदरल्यान्ड्सकी एक ८९ वर्षीया महिलाको दोश्रोपटकको संक्रमण झेल्ने बेलामा मृत्यु भएको थियो।

यस्ता आक्कलझुक्कल देखिने केसहरूले संक्रमण फेरि दोहोरिन सक्छ भन्ने देखाइरहेको अनुमान एल विश्वविद्यालयकी रोग प्रतिरोधात्मक विशेषज्ञ अकिको इवासाकी लगाउँछिन्। सोमबार लान्सेट इन्फेक्सियस डिजिजुमा प्रकाशित नेवाडाको प्रतिवेदन तयार पार्दा अकिकोले त्यसमा टिप्पणी लेखेकी छिन्।

कुनै कुनै व्यक्तिलाई यो दोहोरिन पनि सक्छ भनेर थाहा पाइराख्नु जरुरी छ। अझ केही मामिलामा त यो दोश्रो पटकमा झनै खतरनाक देखिन सक्छ, डा अकिको भन्छिन्, यो संक्रमणबाट एकपटक निको भइसकेका मानिसले पनि मास्क लगाइरहनु र भौतिक दुरी कायम राख्नु जरुरी छ।

विज्ञहरूसँग कोरोना भाइरसको संक्रमण पुनः दोहोरिनुदेखि लिएर भ्याक्सिन र महामारीको चरित्रलाई लिएर गरिएका थप प्रश्नमा उनीहरूले यस्तो जवाफ दिएका छन्ः

कोरोना भाइरस संक्रमण दोहोरिनु हत्तपत्त यसै भइहाल्ने घटना होइनः

यो संक्रमण दोहोरिने घटना असाध्यै दुर्लभ हुन्छ। रेकर्डअनुसार संक्रमण दोहोरिएको पहिलो घटना अगस्ट २४ मा हङकङमा फेला परेको थियो। अहिलेसम्म यसरी दोहोरिएको तीनवटा केस प्रकाशितै भइसकेका छन् भने थप २० वटा केसका मामिलामा वैज्ञानिक समीक्षा भइरहेको छ। अध्ययन गरेर वास्तविकता केलाउने काम अहिले पनि जारी छ।

तर, यस्तो प्रवृत्ति संसारभर यथार्थमा ठ्याक्कै कति संख्यामा देखापरिरहेको छ भनेर थाहा पाउन असम्भवै जस्तो छ। दोहोरिएकै हो भने पनि त्यसलाई वैज्ञानिक आधारबाट पुष्टि गर्न दुवैपटकको संक्रामक भाइरसको जीनमा के अन्तर रहेछ भनेर अध्ययन गर्नुपर्छ।